तपाईँ सुन्दै हुनुहुन्छः

‘कार्यालयमा सेवा लिन जाँदा अनिवार्य साबुन पानीले हात धुनु पर्ने’

सल्यान । कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै जिल्लाका सरकारी कार्यालयहरुले सेवा लिनुपूर्व अनिवार्य साबुन पानीले हात धुन साुबन पानीको व्यवस्था गरेका छन् ।

सेवाग्राही कार्यालयमा सेवा लिन आउँदा अनिवार्य साबुन पानीले हात धोएर मात्र सेवा क्षेत्रमा प्रवेश गर्नु पर्नेछ ।

सेवाग्राही सेवा लिन आउँदा र सेवा लिएर फर्कदा साबुन पानीले अनिवार्य हात धुने व्यवस्था गरिएको प्राथमिक स्वास्थ्य केन्द्र लेकपोखराका निमित्त प्रमुख वीरबहादुर वलीले बताउनुभयो । उहाँले भन्नुभयो ‘कोरोना भाइरसको सन्त्रास अहिले विश्वभर छ । नेपाल पनि कोरोनाको जोखिममा रहेको छ । यस्तो अवस्थामा आम नागरिकलाई सेचत बनाउन यस्तो कार्यको थालनीका गरेका हौं ।’

हतासको वातावरण सृजना गर्ने भन्दा सचेतना र आत्मवलको विकास गर्न यस प्रकारको कार्य थालेको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो ‘कोरोना भाइरसबाट बच्नको लागि यो पूर्व तयारी हो । नगरपालिकामा सेवा लिनु पूर्व र सेवा लिए पश्चात साबुन पानीले हात धुने कामको थालनी गरिएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

घरमा पनि नियमित साबनुपानीले हात धुने, भिडभाडमा नजानेर राम्रोसँग पकाएर मात्रै खानेकुरा खान पनि उहाँले सबैलाई आग्रह गर्नुभयो । नगरपालिकाले पानी र साबुनको व्यवस्था गरेको उहाँको भनाई छ ।

यस्तै बागचौर नगरपालिकाले पनि कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि विभिन्न सचेतनामुलक कार्यक्रम गर्नुका साथै बिभिन्न ठाउँमा हात धुन पानी ट्यांकीका साथै साबुनको व्यवस्था गरेको छ ।

हेल्थ डेस्कमा नौ हजारको स्वास्थ्य परीक्षण
यस्तै कपुरकोटमा स्थापना गरिएको हेल्थ डेस्कमा एक साताको अवधिमा नौ हजार बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।

कोरोना भाईरसबाट जोगिन र रोगीको पहिचान गर्न स्थापना गरिएको हेल्थ डेस्कमा नौ हजार सात सय ८५ जनाको स्वास्थ्य परीक्षण गरिएको डेस्कका फोकल पर्सन देवेन्द्र कुमार सेनले बताउनुभयो ।

एक हजार सात सय ५२ सवारी साधन रोकेर छ हजार सात सय ४५ पुरुष र तीन हजार ४० महिलाको जाँच गरिएको उहाँको भनाई छ । ह

हालसम्म स्वास्थ्य परीक्षण गरिएका कुनै व्यक्तिमा पनि कोरोना भाईरसको लक्षण देखा नपरेको सेनले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button