तपाईँ सुन्दै हुनुहुन्छः

आइसोलेसन वार्ड स्थापना गर्ने तयारी

मेलम्ची।कोरोना भाइरस (कोभिड–१९) को उच्च सतर्कता अपनाउँदै सिन्धुपाल्चोकका सात स्थानमा आइसोलेसन वार्ड स्थापना गर्ने तयारी थालिएको छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे, जलवीरे र मेलम्चीसहित अन्य तीन स्थानमा आइसुलेसन वार्ड सञ्चालनमा ल्याइने बताउनुभयो ।

“बाह्रबिसेमा एक श्ययाको आइसुलेसन वार्ड सञ्चालनमा ल्याई सकिएको छ, अन्यत्र केही दिनभित्रै सञ्चालनमा ल्याउँछौँ”, चापागाईंले भन्नुभयो । जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, गैरसरकारी संस्थालगायत सरोकारवाला निकायसँगको बहुपक्षीय र संयुक्त बैठकको छलफलपछि स्वास्थ्य कार्यालय आइसोलेसन वार्डको तयारीमा जुटेको हो । चौतारा साँगाचोकगढी नगरपालिकाको मेलचौर, त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली र पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनीमा धेरै श्यया क्षमताका आइसोलेसन वार्ड सञ्चालनमा ल्याउने तयारी छ ।

ती स्थानमा भूकम्पपछि बनेका सामुदायिक भवन रहेकाले ठूलो क्षमतामा वार्ड सञ्चालनमा ल्याउन सकिने चापागाईंको भनाइ छ । उहाँका अनुसार यस्ता वार्डमा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरिने छ । जिल्लाका सबै स्वास्थ्य संस्थामा आवश्यक औषधि र उपकरणसहित स्वास्थ्यकर्मीलाई तयारी हालतमा राखिएको कार्यालयले जनाएको छ । “अहिलेलाई अत्यावश्यक औषधिको अभाव छैन, स्थानीय तहलाई थप औषधि र उपकरणको व्यवस्थापन गर्न आग्रह गरेका छौँ”, उहाँले भन्नुभयोे ।

वास सेन्टर राखिने

कोरोना सजगताका लागि बलेफी गाउँपालिकामा वास सेन्टर निर्माण गरिने भएको छ । गाउँपालिका, वडा र बजार क्षेत्रका शौचालयमा सर्वसाधारणका लागि हात धुने ठाउँ तयार गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

कार्यालयमा आउने सेवाग्राही साबुनपानीले हात धोएपछि मात्र सेवा लिन कार्यालयमा प्रवेश गर्नुपर्नेछ । गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बिहीबार बसेको आकस्मिक बैठकले कोरोनाबारे सचेतना र सजगताका लागि यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्ष केदार क्षत्रीले बताउनुभयो । कोरोनाबारे पर्चा पम्प्लेट छपाएर गाउँबस्तीमा वितरण गरिएको र सरसफाइमा गाउँपालिकाबासीलाई सचेत गराउने उद्देश्यले गाउँपालिका कार्यालय तथा वडा कार्यालयमा वास सेन्टर राख्न लागिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button