कोरोनाबाट ज्यान गुमाउने दिनहुँ १२ प्रतिशत थपिँदै
बेइजिङ– कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनहुँ १२ प्रतिशत थपिने गरेको पाइएको छ।
वर्ल्डओमिटरडटइन्फोका अनुसार कोरोना संक्रमणबाट मार्च १९ (बिहीबार)मा र मार्च १८ (बुधबार)मा १२–१२ प्रतिशत ज्यान गुमाउने थपिएका छन्।
कोरोना संक्रमणबाट बुधबारसम्म आठ हजार ९ सय ५१ जनाले ज्यान गुमाएकोमा त्यसको भोलिपल्ट (बिहीबार) त्यो संख्यामा एक हजार ८४ थपिएका थिए। थपिएको संख्या कूल संख्याको १२.११ प्रतिशत हो।
यस्तै, कोरोना संक्रमणबाट मंगलबारसम्म सात हजार नौ सय ७८ जनाले ज्यान गुमाएकोमा त्यसको भोलिपल्ट (बुधबार) त्यो संख्यामा नौ सय ७३ थपिएका थिए। थपिएको संख्या कूल संख्याको १२.१९ प्रतिशत हो।
यस्तै, मंगलबार ११, सोमबार १० र आइतबार १२ प्रतिशत बिरामी थपिएको वर्ल्डओमिटरडटइन्फोले जनाएको छ।
ज्यान गुमाउनेको संख्या बढ्दै
पछिल्ला चार दिनयता कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनहुँ बढेको पाइएको छ।
वर्ल्डओमिटरडटइन्फोका अनुसार कोरोना संक्रमणबाट गत सोमबार ६ सय ४२ जनाले ज्यान गुमाएका थिए। यस्तै, संक्रमणबाट मंगलबार आठ सय १७, बुधबार ९ सय ७३ र बिहीबार एक हजार ८४ जनाको ज्यान गएको थियो।
गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट विश्वभर फैलिएकाे कोरोना संक्रमणबाट शुक्रबार बिहानसम्म १८० देश तथा टेरिटोरी (क्षेत्र)मा फैलिसकेको छ। यसबाट विश्वभरका १० हजार ४८ जनाको ज्यान गइसकेको छ।
कोरोना संक्रमणबाट ज्यान गुमाउने सबैभन्दा बढी इटालीका छन्। त्यहाँ कोरोना संक्रमणबाट तीन हजार चार सय पाँच जनाको ज्यान गइसकेको छ। ज्यान गुमाउने संख्याका आधारमा चीन दोस्रो स्थानमा छ। त्यहाँ कोरोना संक्रमणबाट तीन हजार दुई सय ४८ जनाको ज्यान गइसकेको छ।
प्रतिक्रिया राख्नुहोस्