तपाईँ सुन्दै हुनुहुन्छः

उद्यमी बन्दै महिला

दमौली-तनहुँको व्यास नगरपालिका–४ बस्ने सविना खातुन दिनभरि घरमै त्यत्तिकै बस्नुहुन्थ्यो । घरायसी काममा मात्रै तल्लीन रहनुहुने उहाँको हातमा कुनै सीप थिएन । दिउँसो घरमा बस्दा टिभी हेर्ने, मोबाइल चलाउनेबाहेक विकल्प उहाँसँग थिएन ।

तर अब फुर्सदको समय उहाँलाई त्यत्तिकै कटाउनुपर्दैन । उहाँलाई यहाँ सञ्चालित सिलाइकटाई तालिमले उद्यमी बन्न सहयोग पु¥याएको छ । निलकुमारी मियाँ फाउण्डेशनले सञ्चालन गरेको तीनमहिने तालिमले उहाँलाई दिउँसोको समयमा बेफुर्सदिलो त बनाउनेछ नै साथै आम्दानीको स्रोतको बाटो पनि देखाएको छ ।

काठमाडौँबाट विभिन्न किसिमका कपडा खरिद गरेर ल्याई सिलाएर बिक्री गर्ने उहाँले जानकारी दिनुभयो । सोही ठाउँ निवासी जुना गुरुङ पनि तालिम लिएपछि उत्साहित हुनुहुन्छ ।

बिहान दिउँसो घरको काम पनि सक्नुपर्ने भए पनि उहाँले एक दिन पनि तालिम छुटाउनुभएन । स्थानीय कसिरा खातुनले कम लगानीमा पनि मनग्य आम्दानी हुने भएपछि तालिमपछि सिलाइकटाई व्यवसाय सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

मियाँ, गुरुङ र खातुनजस्तै यहाँका २४ महिला तालिमपछि उद्यमी बन्ने तरखरमा हुनुहुन्छ । तालिम लिनेमध्ये १८ मुस्लिम समुदाय र छ जना अन्य समुदायका महिला छन् । महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सञ्चालित तालिम प्रभावकारी भएको फाउण्डेशनका अध्यक्ष रुविना खानले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य कलिला खानले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button