सरकारलाई चुनौती : दोलखामा कक्षा नौ सम्मको परिक्षा यथावत
दोलखा । कोरोना भाईरसको सम्भावित संक्रमणबाट जोगिन सरकारले विहिबारबाट सञ्चालन हुने एसईइ समेत त्रिभुवन विश्व विद्यालयका सम्पूर्ण परिक्षा स्थगीत गरी चैत्र मसान्तसम्म विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने निर्णय गरेपनि दोलखाका अधिकांश गाँउपालिकाहरुले बिहिवारको कक्षा नौ सम्मको परीक्षा सञ्चालन गरेका छन् ।
दोलखाका चार वटा स्थानीय तहले जिल्लास्तरीय शिक्षा समितिको निर्देशन समेत अवज्ञा गर्दै शुक्रबार पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
सरकारले केही दिन अघि नै कक्षा नौ सम्मको सम्पूर्ण परिक्षा चैत्र पाँच गतेसम्म सक्न निर्देशन दिएको थियो भने बुधबार एसइई समेत त्रिभुवन विश्व विद्यालयका सम्पूर्ण परीक्षा स्थगित गरी चैत्र मसान्तसम्म विद्यालय तथा क्याम्पसहरु बन्द गर्न निर्देशन दिएको थियो ।
आज जिल्लास्तरीय शिक्षा समितिको बैठकले शुक्रबारबाट बाँकी परिक्षा स्थगित गरी बिद्यालय बन्द गर्न निर्देशन दिएको थियो ।
सरकारको निर्देशन अनुसार दोलखाको जिरी नगरपालिकाले चैत्र पाँच गते बुधवार नै कक्षा नौ सम्मको परिक्षा सकेर चैत्र ६ गते विहिबारबाट विद्यालयहरु बन्द गरेको छ भने गौरीशङ्कर गाँउपालिकाले बिहिबारदेखिनै बाँकी परिक्षाहरु स्थगित गरेर बिद्यालय बन्द गरेको छ ।
जिल्लास्तरीय शिक्षा समितिको निर्देशन अनुसार भीमेश्वर नगरपालिका, मेलुङ गाँउपालिका र शैलुङ गाँउपालिकाले शुक्रबारको परीक्षा स्थगित गरी बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
तर तामाकोसी, विगु, बैतेश्वर र कालिञ्चोक गाँउपालिकाले भने सरकार तथा जिल्लास्तरीय शिक्षा समितिको निर्देशन समेत अवज्ञा गर्दै शुक्रबार समेत परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैतेश्वर गाँउपालिकामा शिक्षा मन्त्रालयको सूचना ढिला प्राप्त भएकोले परीक्षा स्थगित गर्न समस्या भएको उपप्रमुख रविचन्द्र आचार्यले बताउनुभयो ।
राष्ट्रिय सङ्कटको समयमा समेत सरकार र जिल्लास्तरीय शिक्षा समितिको निर्देशन अवज्ञा गर्ने विद्यालयहरुलाई के गर्ने भन्ने विषयमा भने स्थानीय प्रशासन र शिक्षा विकास तथा समन्वय इकाईले स्पष्ट जवाफ दिन सकेको छैन् ।
प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेलले भोलीबाट बाँकी परीक्षा स्थगित गरी विद्यालय बन्द गर्न निर्देशन दिएको र सबैले सोही अनुसार गर्ने बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख शङ्करबाबु श्रेष्ठले पनि सरकार र जिल्लास्तरीय शिक्षा समितिको निर्णय सबै पालिकाहरुलाई जानकारी गराई सकिएको बताउनुभयो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ दोलखाका अध्यक्ष हिरा थोकरले सरकारको निर्णयअनुसार परीक्षा सञ्चालन गर्न नसक्ने समितिको बैधानिकतामा प्रश्न उठेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्