तपाईँ सुन्दै हुनुहुन्छः

कफीको बिरुवा मर्न थालेपछि …

मेलम्ची। हेलम्बु गाउँपालिका–६ इचोक गाउँका कफी कृषकका रूपमा चिनिएका रोमबहादुर पण्डित एकाएक कफीको बिरुवा मर्न थालेपछि पिरोलिनुभएको छ । डढुवा र किराले अधिकांश बिरुवा फलसँगै सुकाएर मरेपछि व्यावसायिक कफी उद्यमी पण्डित भावुक देखिनुभयो । “वार्षिक कफी बेचेर नै रु तीन लाखभन्दा बढी आम्दानी हुन्थ्यो तर यो वर्ष हिउँदसँगै प्रायः बोट मरेको छ, फल खेर गएको छ”, उहाँले खेतबारी वरिपरि टोलाउँदै गुनासो गर्नुभयो ।

लाखाँै लगानी र दिनरातको मेहनतको पसिना एकै झट्काले गुम्ने अवस्थामा पुगेपछि अन्योलमा परेको उहाँले सुनाउनुभयो । तेह्र रोपनी आफ्नै जग्गामा व्यावसायिकरूपमा पण्डितले एक हजार ३०० बोट कफीको बिरुवा लगाउनुभएको थियो । “हिउँदसँगै बिरुवा डढेका छन् । किरा लागेर झरिरहेका छन् । सबैलाई गुहारेका छौँ”, उहाँले भन्नुभयो ।

तीन वर्षको मेहनत हिउँदसँगै फल टिप्ने बेलामा बोटै मर्न थालेपछि चौतारा साँगाचोकगढी नगरपालिका–१० का यमबहादुर महत भक्कानिन्नुभयो । आठ रोपनी खेतबारीमा उहाँले ७०० बिरुवा लगाएर कफी खेतीलाई जमाउँदै आउनुभएको थियो । “आम्दानी हुने बेला दशा लाग्यो, सबै बोट मरेको देखेर रुन मन लागेको छ हजुर”, उहाँले भन्नुभयो । तीन वर्षबाट लगातार कफीखेतीमा जमिरहेका उहाँले रु डेढ लाख बराबरको कफी बिक्री गर्दै आउनुभएको छ ।

कफी खेतीले हराभरा देखिने जमीनमा लाखौँ पैसा र पसिना सुकेका बोटसँगै क्रमशः हराइरहेको उहाँको अनुभव छ । “हाम्रो सातो गएको छ, यस्तो कहिले हुँदैनथ्यो, के कारणले यस्तो भएको हो बुझ्न सकिएको छैन”, उहाँले भन्नुभयो ।

पण्डित र महत जस्तै इन्द्रावती गाउँपालिकाको बाँडेगाउँका श्यामबहादुर कटुवाल सबैजस्तो बोट फलले भरिएलगत्तै एकाएक मरेपछि भौँतारिरहनुभएको छ । “सात रोपनी जग्गामा वार्षिक लाखाँै मूल्य बराबरको कफी लगाइरहेको थिएँ, सबै डुबेजस्तो भएको छ, दिक्क भएर बस्नुबाहेक विकल्प छैन, के गर्ने ?”, उहाँले प्रश्न गर्नुभयो ।

यी त केही उदाहरण मात्रै हुन् । डढुवा र किराले कफीको अधिकाशं बिरुवा मरेपछि जिल्लाको तीन नगरदेखि पाँच गाउँपालिकाका गरी दुई हजार १५० कृषक परिवारको व्यथा एउटै छ । डढुवा र किराले कफीको बोट मर्ने क्रम नरोकिएपछि व्यावसायिक कफी खेतीमा एकजुट भएर कस्सिरहेका कृषक निरुत्साहित बनेका छन् । जिल्लाभर १२४ हेक्टर क्षेत्रफलमा कफीखेती भइरहेकामा फल लाग्न शुरु भएलगत्तै मरेको जिल्ला कफी सहकारी सङ्घ, सिन्धुपाल्चोकका अध्यक्ष मञ्जु थापाले जानकारी दिनुभयो ।

जिल्लाभरका १२ वटा सहकारी र १८ समूहका व्यावसायिक कफी कृषकले फल बोटसँगै मरेको खबर पाएलगत्तै स्थलगत पुगेर रिपोर्टिङसहित सम्बद्ध सबै निकायलाई गुहारिरहेको उहाँले उदाहरण दिनुभयो । “हिउँदे चिसोको रोगका कारण ८० प्रतिशतभन्दा बढी बिरुवा मरेपछि कृषक विचल्लीमा छन्, लगानी डुबेको छ, रोग पहिचान र रोकथामका लागि नमूना परीक्षण गर्न सूचना दिइसकेका छौँ”, उहाँले भन्नुभयो ।

जिल्लाभर वार्षिक उत्पादन हुने ३० मेट्रिक टनभन्दा बढी कफीबाट मात्रै वार्षिक अनुमानित रु दुई करोड आम्दानी हुने गरेको छ । उहाँका अनुसार अहिले जिल्लाभर रु एक करोड बराबरको बोट र फल मरेर सकिएको छ ।

कृषकको समस्याबारे नेपाल बाली विज्ञान महाशाखा, कफी सङ्घलगायतका सम्बन्धित सम्पूर्ण संस्थालाई सूचना र निवेदन दिइसकेको उहाँले प्रष्ट्याउनुभयो । असारमा शुरु गरिने कफी खेतीलाई शुरुमा पूरा फल लाग्न तीन वर्षको समय लाग्ने गर्छ । एउटा बोटमा १० किलोसम्म फल्ने गर्छ । कफी बजारमा प्रतिकिलो ९७ रुपैयाँमा बिक्री हुने गर्छ ।

“आगामी जेठ अन्तिमसम्म कफी बिक्रीका लागि पठाइसक्ने गर्छौं”, उहाँले भन्नुभयो । विसं २०६४ देखि एउटा सामाजिक संस्थाबाट शुरु गरिएको कफी खेतीलाई सहकारी सङ्घबाट व्यवस्थित बनाएर जिल्लामा शुरु गरिएको हो । जिल्ला कफी सहकारी सङ्घबाट ‘अर्गानिक सटिफिकेसन’ सकेर पैठारी गर्न थालेको आठ वर्ष पुगिसकेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button