तपाईँ सुन्दै हुनुहुन्छः

टिपर व्यवस्थापनको माग गर्दै नगरप्रमुखलाई ज्ञापनपत्र

बनेपा। पनौती बजार क्षेत्रमा टिपरले धेरै समस्या पारेकाले त्यसको उचित व्यवस्थान गरेर मात्रै टिपर सञ्चालन गर्नुपर्ने माग गर्दै स्थानीय बासिन्दाले बुधबार नगरपालिकामा पुगेर नगरप्रमुख भीम न्यौपानेलाई ज्ञापनपत्र बुझाएका छन् ।

सोमबार पनौती बसपार्कमा टिपरले ठक्कर दिएर आमाछोरीको निधन भएपछि पनौतीका बासिन्दाले नगरपालिकामा ज्ञापनपत्र बुझाएर नगरप्रमुखको ध्यानाकर्षण गराएका हुन् । टिपर आतङ्कका कारण पनौतीमा दिनदिनै दुर्घटना भएको र स्थानीयवासीको स्वास्थ्यमा प्रतिकूल असर गर्दै गएको अवस्थामा समस्या समाधान गर्न अबको १५ दिनभित्रमा टिपरको उचित व्यवस्थापन गर्न ज्ञापनपत्रमा उल्लेख छ । मौखिक अवगत गराउँदा पनि ध्यान नगएको हुनाले अबको १५ दिनभित्रमा टिपरको व्यवस्थापन गरी स्थानीय बासिन्दाको जिउधन र स्वास्थ्यको ख्याल गरिदिन आग्रह गरिएको छ । साथै सम्बन्धित पक्षले पनि त्यस विषयमा आफैँले व्यवस्थापनका लागि सोच्न आग्रह गरेको छ ।

ज्ञापनपत्रको उचित सम्बोधन नभए स्थानीय बासिन्दा आफैँले टिपर बन्द गर्न बाध्य हुने ज्ञापनपत्रमा जनाइएको छ । साँघुरो सडकमा तीव्रगतिमा टिपर गुडाउँदा दुर्घटना बढी हुनुका साथै धुलोधुवाँ बढी भएकाले स्वास्थ्यमा असर गरिरहेका कारण टिपर चलाउन बन्द गर्नुपर्ने स्थानीय बासिन्दा महेन्द्र ताम्राकारले बताउनुभयो । आफूहरूले पहिले पनि पटकपटक नगरपालिकामा मौखिक जानकारी गराउँदा पनि नगरपालिकाले ध्यान नदिएको उहाँको भनाइ छ ।

नगरपालिका प्रमुख भीम न्यौपानेले स्थानीय बासिन्दाले टिपर व्यवस्थापनका लागि ज्ञापनपत्र बुझाएको उल्लेख गर्दै उहाँहरुको सम्बोधन गर्न आगामी असार मसान्तसम्ममा वैकल्पिक बाटो बनाएर टिपर व्यवस्थापन गरिसक्ने बताउनुभयो । पनौतीको ढलमलेबाट भालेश्वरसम्म वैकल्पिक बाटो बन्दै गरेकाले असार मसान्तसम्ममा वैकल्पिक बाटोमा टिपरलाई व्यवस्थापन गर्ने उहाँको भनाइ छ । बुधबार पनि टिपर नचलाउन आग्रह गर्दै स्थानीय बासिन्दाले करिब तीन÷चार घण्टासम्म अवरोध गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button