तपाईँ सुन्दै हुनुहुन्छः

कफिको बिरुवा मर्न थालेपछि किसान चिन्तित

मेलम्ची । हेलम्बु गाउ“पालिका वडा ६, इचोक गाउ“का कफि कृषकको रुपमा चिनिएका रोमबहादुर पण्डित एकाएक कफिको बिरुवा मर्न थालेपछि पिरोलिएका छन् ।

डढुवा र किराले अधिकाशं बिरुवा फलसगै सुकेर मरेपछि व्यवसायिक कफि उद्यमी पण्डित भावुक देखिए । ‘वार्षिक कफि बेचेर नै ३ लाखभन्दा बढी आम्दानी गर्थे,तर यो वर्षे हिउँदसँगै प्राय बोट मरेको छ ,फल पनि खेर गएको छ ।’ उहाँले गुनासो गर्नुूभयो ।

लाखौ लगानी र दिनरातको मेहनतको पसिना एकै झट्कामा गुम्ने अवस्थामा पुगेपछि अन्योलमा परेको उनले सुनाए । आफ्नो १३ रोपनी जग्गामा पण्डितले एक हजार ३ सय बोट कफिको बिरुवा लगाएका थिए । ‘हिउँदसगै बिरुवा डढेका छन्, किरा लागेर झरिरहेका छन् , सबैलाई गुहारेका छौ’, उहाँले भन्नुभयो । ३ वर्षदेखिको मेहनत फल टिप्ने बेलामा बोटै मर्न थालेपछि चौतारा साँगाचोकगढी नगरपालिका वडा १० का यमबहादुर महत भक्कानिन्नुभयो । ८ रोपनीमा खेतबारीमा उनले ७ सय बिरुवा लगाएर कफि खेतीलाई जमाउँदै आएका थिए । ‘आम्दानी हुने बेला दशा लाग्यो,सबै बोट मरेको देखेर रुन मन लागेको छ हजुर,’ उहाँले भन्नुभयो । तीन वर्षबाट लगातार कफि खेतीमा जमिरहेका उनले डेढ लाख बराबरको कफि बिक्री गर्दैआएका थिए ।

कफि खेतीले हराभरा देखिने जमिनमा लाख पैसा र लगानीको पसिना सुकेका बोटसँगै क्रमशः हराइरहेको उहाँको अनुभव छ । ‘हाम्रो सातो गएको छ, यस्तो कहिले हुदैनथ्यो,के कारणले यस्तो भएको हो बुझ्न सकिएको छैन्,’उहाँले भन्नुभयो । पण्डित र महतजस्तै इन्द्रावती गाउँपालिकाको बाँडेगाउँका कृष्क श्यामबहादुर कटुवाल पनि सबैजस्तो बोट फलले भरिएलगत्तै एकाएक मरेपछि भौतारिरहेका छन् । ‘७ रोपनीमा जग्गामा वार्षिक लाखौ मूल्य बरारको आम्दानी हुनेगरी कफि लगाइरहेको थिए, सबै डुबेजस्तो भएको छ, दिक्क भएर बस्नुबाहेक विकल्प छैन् ,के गर्ने ?, ’उहाँले प्रश्न गर्नुभयो।

यी त केही उदाहरण मात्रै हुन् । डढुवा र किराले कफिको अधिकाशं बिरुवा मरेपछि जिल्लाको तीन नगरदेखि पाँच गाउँपालिकाको गरी झण्डै दुई हजार १ सय ५० कृषक परिवारको व्यथा एउटै छ । डढुवा र किराले कफिको बोट मर्नेक्रम नरोकिएपछि व्यवसायिक कफि खेतीमा एकजुट भएर कस्सिएका कृषक निरुत्साहित बनेका छन् ।

जिल्लाभर एकसय २४ हेक्टर क्षेत्रफलमा कफि खेती भइरहेकोमा फल लाग्न सुरु भएलगत्तै मरेको जिल्ला कफि सहकारी संघ ,सिन्धुपाल्चोककी अध्यक्ष मञ्जु थापाले जानकारी दिइन् । जिल्लाभरका १२ वटा सहकारी र १८ समुहका व्यवसायिक कफि कृषकले फल बोटसँगै मरेको खबर पाएलगत्तै स्थलगत पुगेर रिपोर्टिङसहित सम्बद्ध सबै निकायलाई गुहारिरहेको उहाँले उदाहरण दिनुभयो। ‘हिउँदे चिसोको रोगको कारणले ८० प्रतिशतभन्दा बढी बिरुवा मरेपछि कृषक बिचल्लीमा छन्, लगानी डुबेको छ , रोग पहिचान र रोकथामको लागि सेम्पल परिक्षण गर्न सूचना दिइसकेका छौ ,’उहाँले भन्नुभयो ।

जिल्लाभर वार्षिक उत्पादन हुने ३० मेट्रीक टनभन्दा बढी कफिबाट मात्रै वार्षिक अनुमानित दुई करोड आम्दानी हुने गरेको छ । उनकाअनुसार आहिले जिल्लाभर एक करोड बराबरको बोट र फल मरेर सकिएको छ । कृषकको समस्याबारे नेपाल बाली विज्ञान महाशाखा, कफि संघलगायतका सम्बन्धित सम्पूर्ण संस्थालाई सूचना र निवेदन दिइसकेको उनले प्रष्ट्याइन् । असारमा सुरु गरिने कफि खेतीलाई सुरुमा पुरा फल लाग्नको लागि ३ वर्षको समय लाग्ने गर्छ । एउटा बोटमा १० किलोसम्म फल्ने गर्छ कफि बजारमा प्रतिकिलो ९७ रुपैयामा बिक्री हुने गर्छ ।

‘आगमी जेठ अन्तिमसम्म कफि बिक्रीको लागि पठाइसक्ने गर्छौ , ’उहाँले भन्नुभयो । २०६४ सालदेखि एउटा सामाजिक संस्थाबाट सुरु गरिएको कफि खेतीलाई सहकारी संघबाट व्यवस्थित बनाएर जिल्लामा सुरु गरिएको हो । जिल्ला कफि सहकारी संघबाट ‘अर्गा्निक सटिफिकेशन’ सकेर पैठारी गर्न थालेको ८ वर्ष पुगिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button