झापाको वास्तविकता : भवनमा जिसस, ढोकामा जिविस !
झापा। स्थानीय निकायमा जनप्रतिनिधि निर्वाचत भएर आएको दुई वर्ष सात महिना बित्दासमेत जिल्ला समन्वय समिति (जिसस)झापाको मूल ढोकामा नाम परिवर्तन भएको छैन ।
सदरमुकामको जिल्ला प्रशासनलगायत दर्जन बढी सरकारी कार्यालयको प्रवेशद्वारमै रहेको जिससको मूलद्वारमा जिल्ला विकास समिति (जिविस) नै लेखिएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै तत्कालीन जिविसको नाम फेरिएको हो । निर्वाचित जनप्रतिनिधि भएर विसं २०७४ साउन ३२ गते आएलगत्तै भवनमा ‘जिल्ला समन्वय समिति प्रदेश नं १ को कार्यालय झापा’ भनेर लेखिएता पनि प्रवेशद्वारको ढोकामा जिविस नै रहेको हो ।
सडक विस्तारसँगै ढोका र कम्पाउड वाल सार्नुपर्ने, भवनसमेत जीर्ण बन्दै गएकाले मर्मतसम्भार गर्नुपर्ने भएको बताउँदै उपसचिव नहुँदा समस्या भएको जिससका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभयो । “जिससमा उपसचिवको दरबन्दी छ”, उहाँले भन्नुभयो, “लामो समय बित्दासमेत पदपूर्ति हुन सकेको छैन । जसका कारण मर्मतसम्भारको ठेक्का प्रक्रिया अगाडि बढाउन नसक्दा ढोकाको नामसमेत परिवर्तन गर्न सकिएको छैन ।”
उहाँका अनुसार सार्वजनिक खरिद ऐनअन्तर्गत मर्मतसम्भार ठेक्का लगाउनका लागि उपसचिवले हस्ताक्षर गरेर सूचना प्रकाशन गरी प्रक्रिया अगाडि बनाउनुपर्ने हुन्छ । पटकपटक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण गराउँदासमेत रिक्त रहेको पदपूर्ति नहुँदा समस्या भएको उहाँको भनाइ छ ।
प्रमुख पोर्तेलले भन्नुभयो, “पुरानो ढोका भत्काउनु नै परेछ पछि नयाँ बनाएर नाम परिवर्तन गर्न खोजिएको हो”, “उपसचिव आउने बित्तिकै प्रक्रिया अगाडि बढाएर काम गर्छौं ।” -रासस
प्रतिक्रिया राख्नुहोस्