तपाईँ सुन्दै हुनुहुन्छः

सहुलियत पसल र घुम्ति पसलहरू सञ्चालन गर्ने सरकारको तयारी


काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले बजारमा दैनिक उपभोग्य वस्तुको आपुर्ती सहज बनाउन सरकारले सहुलियत पसल र घुम्ति पसलहरू सञ्चालनको तयारी गरिरहेको बताउनुभएको छ ।

प्रतिनिधि सभा अन्तगर्तको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरवारमा बसेको बैठमा मन्त्री भट्टले कोरोना भाईरसका कारण बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका संयन्त्रहरू परिचालन गरी विभिन्न स्थानमा सहुलियत पसल र घुम्ती पसलहरू सञ्चालनमा ल्याउने तयारी भैरहेको जानकारी दिनुभयो ।

मन्त्री भट्टले बजारमा दैनिक उपभोग्य बस्तुको कृतिम अभाव तथा कालो बजारी हुन नदिन देशैभरी बजार अनुगमनलाई तिब्रता दिएको समेत बैठकमा जानकारी दिनुभयो ।

मन्त्री भट्टले कोरोना भाईरसको प्रकोप नेपाल भित्रिन नदिन र यसले अर्थतन्त्रका समग्र क्षेत्रमा पार्न सक्ने प्रभाव कम गर्न सरकारले उच्च सतकर्ताका साथ काम गरिरहेको समितिलाई जानकारी दिनुभयो ।

बैठकमा सांसद सोमप्रसाद पाण्डेले कोरोना भाईरसको परीक्षणका लागि देशका विभिन्न स्थानहरूमा सुविधा सम्पन्न प्रयोगशालाहरू स्थापना गर्न र भईरहेका प्रयोगशालाहरूको क्षमता विस्तार गर्न सरकारको ध्यानकर्षण गराउनुभयो ।

साँसद भिमसेनदास प्रधानले कालो बजारी नियन्त्रणका लागि सरकार बलियो र प्रभावकारी रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद विन्दा पाण्डेले खाना पकाउने ग्याँसको अभाव कम गर्न सरकारले विद्युतीय चुल्लोमा सहुलियत दिने जस्ता विभिन्न बैकल्पिक उपयहरू अवलम्वन गर्नुपर्नेमा जोड दिुनुभयो ।

यसैगरी बैठकमा साँसदहरू देवेन्द्र पौडेल, सुजता परियार, अमृता अग्रहरी, सरिता गिरी, प्रकाश रम्तेल लगायतले कालो बजारी नियन्त्रण गर्न र आम नागरिकलाई बजारमा दैनिक उपभोग्य बस्तुको अभाव हुदैन भन्ने आस्वस्त पार्न सरकारले उचित कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button