तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाको कारण मुलुकको अर्थतन्त्रमा पर्ने असर सम्बन्धमा अध्ययन गर्न राष्ट्र बैंकले बनायो समिति


 
काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरस(कोभिड १९) को कारण मुलुकको अर्थतन्त्रको विभिन्न क्षेत्रमा पर्ने असर सम्बन्धमा अध्ययन शुरु गरेको छ । राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्टको नेतृत्वमा अध्ययन शुरु गरिएको राष्ट्र बैंकले जनाएको छ ।

कोरोनाका कारण बैंकिङ क्षेत्रमा पर्ने असर, मूल्य स्फिति, भुक्तानी सन्तुलन एवं विदेशी विनिमय सञ्चितिका क्षेत्रमा के कति असर पर्न सक्छ भन्ने एकिन गर्न अनुसन्धान शुरु गरिएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख एवं प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिनुभयो ।

कोरा्ना भाइरस यतिबेला विश्वव्यापी बन्दै विश्व अर्थतन्त्रमा विभिन्न प्रकारका असर गरिसकेको छ । नेपालमा पनि यसको प्रभाव शुरु भएको छ । प्रारम्भिक अध्यनका अनुसार नेपालको अन्य क्षेत्रको तुलनामा पर्यटन क्षेत्रमा कोरोनाको असर बढी देखिएको अध्ययन कार्यदलका संयोजक डा. भट्टले बताउनुभयो ।

अध्ययन कार्यदललले कोरोनाको असर छिट्टै कम भएको खण्डमा त्यती ठूलो समस्या नआउने र समस्या लम्बिदै गएको खण्डमा विभिन्न क्षेत्रमा असर पर्ने आकलन गरेको छ ।

नेपाल राष्ट्र बैकले मौद्रिक नीतिको मध्यावधी समीक्षाको क्रममा कोरोनाको प्रभाव परेको खण्डमा नेपाल राष्ट्र बैक मार्फत राहत र सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था गरेकोले अध्ययनको आधारमा समस्या देखिएको र मर्का परेको क्षेत्रलाई राहत र सुविधि दिन सकिने व्यवस्था गरेको छ । अध्ययनपछि सोही निर्णयका आधारमा नेपाल राष्ट्र बैंकले आवश्यक निर्णय लिन सक्ने छ ।

अन्य देशहरुको तुलनामा नेपालमा हाल सम्म कोरोनाको असर त्यती परिसकेको छैन । तर, आइतबार उद्योगी/व्यवसायीहरुले अर्थमन्त्रीलाई भेटेर आर्थिक संकटकाल आउन लागेको भन्दै सहुलियत दिन माग गरेका थिए । कर्जाको ब्याजदरमा छुट तथा कर छुट लगायतका प्याकेज ल्याउन उद्योगी व्यवसायीहरुले सरकारसँग माग गरका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button