तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको शुक्लागण्डकीमा पुनः चितुवाको आक्रमण, २१ महिने बालिका घाइते

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा एक बालिकालाई चितुवाले आक्रमण गरेको छ । सोमबार साँझ शुक्लागण्डकी–३ वनकेवा निवासी नारायण न्यौपानेको २१ महिने छोरी सँस्कृति न्यौपानेलाई चितुवाले आक्रमण गरेको हो । बालिकाको पेट, खुट्टासहित विभिन्न अंगमा चोट लागेको छ । बालिकाको अवस्था खतरामुक्त रहको बताइएको छ ।

घाइते बालिकाको दुलेगौंडास्थित तनहुँ सेवा हस्पिटलमा सामान्य उपचारपछि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक जगदिश रेग्मीले जानकारी दिनुभयो ।
गत पुस १३ गते पनि सोहि वडाको वनकेवा रातमाटाका राजु नेपालीको २२ महिने छोरा रविन नेपालीलाई घरकै पिढीँबाट चितुवाले आक्रमण गरी लगेको थियो ।
भोलिपल्ट घरभन्दा एक किलोमिटर पर ढाङढुङे ठूलोपाखा श्यामपोखरी सामुदायिक वनमा बालकको शव क्षतविक्षत अवस्थामा भेटिएको थियो ।

गत बुधबार पनि जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पामा चितुवाले आक्रमण गरेको थियो । आक्रमणबाट लालबहादुर नेपालीका ७ बर्षिय छोरा अनुप नेपाली घाईते भएका थिए । छिमेकीको विवाह हेर्न आमासंगै गएका उनीमाथी आक्रमण भएको हो । घाईते बालक गण्डकी अस्पताल पोखरामा उपचाररत छन् ।

९ जनाको मृत्यु, ६ घाइते

जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणबाट २ वर्षको अवधिमा ९ जना बालबालिकाले ज्यान गुमाएका छन ।

त्यस्तै ६ जना बालबालिका घाइते रहेको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताउनुभयो । अहिले सम्म ७ वटा चितुवा खोरमा परेका छन । तनहुँको भानु नगरपालिकाको विभिन्न बनमा चितुवाले आतंक मच्याएको थियो ।

यी हुन चितुवाको आक्रमणबाट ज्यान गुमाउने ९ बालबालिका

तनहुँमा चितुवाको आक्रमणबाट २ वर्षको अवधिमा ९ जना बालबालिकाले ज्यान गुमाईसकेका छन । चितुवाको आक्रमणबाट विक्रम संवत् २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विक्रम संवत् २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, विक्रम संवत् २०७५ मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ ।
त्यस्तै २०७६ पुष १४ गते शुक्लागण्डकी ३ रातमाटाका २ वर्षीय रविन नेपाली, २०७६ पुष २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगर र २०७६ माघ १४ गते बन्दिपुर गाउँपालिका वडा नं. ४ लोहि पाखाका १० वर्षिय इश्क सुनारको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button