दिप्रुङ चुइचुम्मामा ‘एक वडा, एक दलित सहकारी संस्था’
खोटाङ-दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुमा ‘दलित बचत तथा ऋण सहकारी संस्था’ स्थापना गरिएको छ । दलित परिवारलाई बचत गर्ने तथा बचतलाई आम्दानी र व्यवसायमूलक क्षेत्रमा लगानी गर्ने बानीको विकास गराउन गाउँपालिकाले ‘एक वडा, एक दलित सहकारी संस्था’ स्थापना गरेको हो ।
गाउँपालिकाको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्यक्रमअन्तर्गत छोरम्बुमा स्थापना भएको सहकारीमा सो गाउँपालिकाको रु ५० हजार बीउ पूँजी रहेको छ । स्थानीय पदमबहादुर परियारको अध्यक्षतमा सात सदस्यीय सञ्चालक समिति रहेको सहकारीमा स्थापनाकालमै ४२ शेयर सङ्ख्या पुगेको छ ।
गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार बाँकी छ वडामा पनि यसै आवभित्र सहकारी संस्था स्थापना गरिने गाउँपालिकाले जनाएको छ । सहकारी संस्था स्थापना भएपछि दलित समुदायमा बचत गर्ने बानी बढ्न थालेको छ । आर्थिक र सामाजिकरूपमा पछाडि परेका दलित समुदायको उत्थान गर्न ‘दलितसँग सहकारी’ कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले जानकारी दिनुभयो ।
सात वडा रहेको सो गाउँपालिकाका दलित समुदायलाई सहभागी गराएर दलित सहकारी संस्था स्थापना गर्न बीउ पूँजीस्वरुप आव २०७६÷०७७ मा रु पाँच लाख रकम विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । सहकारी संस्थाका लागि आवश्यक विधान निर्माण, सहकारी दर्ता, तालिम, व्यवस्थापनलगायतका काममा गाउँपालिकाले सहयोग गरेको जनाइएको छ ।
समावेसी शीर्षकमा दलित समुदायका लागि विनियोजन गरिने अधिकांश बजेट यसअघिसम्म तालिम, गोष्ठी र खाजा नास्तामै खर्च हुँदा दलित समुदायको जीवनस्तर उक्सन नसकेको तथ्यलाई ध्यानमा राखेर सहकारी संस्था स्थापनामा लगानी गर्ने निर्णय गरिएको जनाइएको छ ।
गाउँपालिका प्रमुख राईका अनुसार दलित सहकारी संस्थाको सञ्चालकदेखि कर्मचारी पनि दलित समुदायकै व्यक्ति हुनेछन् । परम्परागत पेशा सिलाइ÷कटाइ तथा आरन व्यवसाय गर्दै आएका सो गाउँपालिकाका दलित समुदाय गाउँपालिकाले आफ्नै नेतृत्व र स्वामित्वमा सहकारी संस्था स्थापना गरिदिने भएपछि हर्षित भएका छन् ।
तीन हजार ७५२ घर स्थानीयवासीको बसोबास रहेको सो गाउँपालिकामा ३८० घर दलित परिवार छन् । बालीघरे प्रथाका रूपमा काम गर्दै आएका सो गाउँपालिकाको दलित समुदायका युवापुस्ता पछिल्लो समय वैदेशिक रोजगारीमासमेत जाने गरेका छन् । बचत गर्ने बानीको विकास नहुँदा अधिकांश परिवारका सदस्यले विदेशमा कमाएर पठाएको रकम फजुल खर्चमा सकिने गरेको गाउँपालिकाले सार्वजनिक गरेको एक तथ्याङ्कले देखाएको छ ।
प्रतिक्रिया राख्नुहोस्