‘रेडियोधर्मी विधेयक’ राष्ट्रिय सभाबाट पारित
अच्युत अर्याल । राष्ट्रियसभाको आजको बैठकले ‘रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ सर्वसम्मतिले पारित गरेको छ ।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी बैठकले ‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७६’ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुको प्रश्नमा मन्त्री पोखरेलले शिक्षासम्बन्धी विभिन्न ऐनमा एकरुपता कायम गर्न र नेपालको संविधान अनुकूल बनाउन आवश्यक भएकाले विधेयक ल्याइएको जानकारी दिनुभयो ।
यसैगरी बैठकले ‘अध्यागमन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाका तर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले ‘अध्यागमन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्व सहमतिले स्वीकृत गरेको छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भट्टराईले हवाई सेवालाईं सुरक्षित, स्तरिय र अझ प्रभावकारी बनाउने उद्देश्यले विधेयक ल्याइएको बताउनुभयो ।
मन्त्री भट्टराईले राजविराज विमानस्थबाट रात्रिकालीन उडान गर्ने तयारी समेत भइरहेको जानकारी दिनुभयो ।
यसअघि बैठकमा सांसद खिमलाल भट्टराईले सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोबासका कारण सिर्जित समस्या समाधानमा आवश्यक पहल गर्न माग गर्नुभयो ।
सांसद जितेन्द्र नारायण देवले गणतन्त्रमा खतरा आउन नदिने तर्फ सचेत हुदै आम नेपाली जनताको माग र भावनालाई सरकारले संवोधन गर्न आवश्यक रहेको बताउनुभयो ।
सांसद चक्र प्रसाद स्नेहीले भ्रष्टाचार नियन्त्रण र सुशानका लागि मुलुकमा विद्यमान निर्वाचन प्रणालीमा नै सुधारको आवश्यकतामा जोड दिनुभयो ।
सांसद इन्दु कडरियाले नेपाल भारत सीमा क्षेत्र लिपुलेक, लिम्पियाधुरा र कालापानीसी क्षेत्रका जनताले भोग्नु परेको सास्तिप्रति सरकारको ध्यानाकर्षण गर्नुभयो ।
सांसद मृगेन्द्र कुमार सिंह यादवले सप्तरीको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम ठप्प रहेको उल्लेख गर्नुहँदै विकास निर्माणको काममा गति दिन सरकरको ध्यानाकर्षण गर्नुभयो ।
सांसद विमला घिमिरेले कोरोना भाइसरको संक्रमण हुन नदिन तराइका नाकाहरुमा हेल्थ डेस्कलाई अझ प्रभावकारी बनाउन माग गर्नुभयो ।
सांसद हरिराम चौधरीले सरकारले लागु गरेको वैज्ञानिक वनको प्रभावकारी अनुगमन हुन नसक्दा वन फडानी भइरहेकोले वन क्षेत्रको संरक्षणका लागि सरकारसँग माग गर्नुभयो ।
सांसद राधेश्याम पासवानले समाजमा अझै पनि जातिय र वर्गिय विभेद रहेको उल्लेख गर्नुहुदै विभेदको अन्त्य गरी गरिबी निवारणमा लाग्नु आवश्यक रहेको धारणा राख्नुभयो ।
सांसद माया प्रसाद शर्माले कर्णाली प्रदेशका कतिपय अस्पतालमा डाक्टर नभएको र रोगको परिक्षणका लागि उपकरण समेत नभएकोले आवश्यक व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्