संसदका गतिविधिहरुलाई प्रभावकारी बनाउन लागिरहेको छु : सभामुख सापकोटा
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसदका गतिविधिहरुलाई प्रभावकारी बनाउन आफु लागिरहेको बताउनु भएको छ ।
संसद सचिवालयमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख सापकोटाले संसदबाट गर्नु पर्ने कामहरुलाई प्राथमिकताका आधार अगाडी बढाइएको बताउदै सदनमा कोरम नपुग्ने लगायतका विषय अन्त्य गर्न आफुले छलफल अघि बढाएको बताउनुभयो ।
उहाँले रोकिएर बसेको महत्वपूर्ण नागरिकता लगायतका विधेयकहरुलाई पर्यप्त छलफल गरी छिटो पारित गर्ने विषयमा आफुले सकेजति पहल गर्ने पनि स्पष्ट पार्नुभयो ।
पत्रकारहरुले उठाएका जिज्ञासाको जवाफ दिदै सभामुख सापकोटाले निष्ठा र इमान्दारिता पूर्वक आफुले काम गर्ने भन्दै एमसीसीको विषयमा राजनीतिक दल र नेताहरुबीच छलफल भईरहेको बताउनुभयो ।
उहाँले विश्वमा बढिरहेको कोरोनाको संक्रमण नेपालमा पनि आउन सक्ने र त्यस तर्फ सबैको ध्यान जानु पर्ने भएकाले दलहरुकै आग्रहमा एक हप्ता प्रतिनिधि सभा बैठक स्थगित गरिएको जानकारी समेत दिनुभयो ।
उपसभामुख नियुक्तिको विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा सभामुख सापकोटाले दलहरुबीच छलफल भईरहेको र केही दिन पर्खन भनेको भन्दै दलहरुबीच सहमति भएपछि निर्वाचनको मिति तोकिने बताउनभयो ।
प्रतिक्रिया राख्नुहोस्