तपाईँ सुन्दै हुनुहुन्छः

विषाक्त मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारले तीन लाख दिने

जनकपुरधाम । घरेलु विषाक्त मदिरा सेवनका कारणले मृत्यु भएका परिवारलाई प्रदेश नंं २ का सरकारले प्रत्येक परिवारलाई तीन लाखको दरले राहत दिने घोषणा गरेको छ ।

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाको वडा नंं २ र ३ लगायतका स्थानमा मृत्यु भएका परिवारलाई प्रदेश सरकारले उक्त रकम दिने घोषणा गरेको हो ।

प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारहरुसँग आज भेटेर संमवेदना व्यक्त गर्दै मृतकका आश्रित परिवारलाई ३÷३ लाखका दरले राहत रकम उपलब्ध गराउने घोषणा गर्नुभयो ।

उहाँले सो अवसरमा खुल्ला बिषाक्त मदिरा बिक्री वितरण तथा उत्पादन गर्ने जो कोहीलाई कानूनको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्दै घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको बताउनुभयो ।

उहाँले प्रदेश सरकार चाँडै प्रदेशलाई खुला मदिरा मुक्त घोषणा गर्ने तयारीमा रहेको बताउदै खुल्ला मदिराको उत्पादन, बिक्री वितरण कानूनी रुपमा अहिले पनि दण्डनीय भएको बताउनुभयो ।

मुख्यमन्त्री राउतसँगै प्रदेश नंं २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले आजै प्रदेश सुरक्षा समितिको बैठक बसी खुल्ला मदिरा नियन्त्रणका साथै दोषी माथि कारबाहीको प्रक्रिया अगाडी बढाइने बताउनुभयो ।

रमदैया पुगेको टोलीमा मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, पूर्व सभासद उर्मिला साहसहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button