घरघरमा पानीका धारा पाएपछि स्थानीय हर्षित
तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १४ स्थित ठिन र नयाँगाउँकोटमा एक घर एक धारा अभियान पुरा भएको छ । ’एक घर एक धारा’अभियान अन्तर्गत शनिबार व्यास–१४ स्थित ठिनमा ६० र नयाँगाउँकोटमा ११ गरी ७१ घरमा सफा स्वाच्छ खानेपानीको धारा धारा जडान कार्य सम्पन्न गरिएको हो ।
लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका तनहुँको व्यास नगरपालिका–१४ ठिन र नयाँगाउँकोटको समस्याको समाधान भएको छ ।
व्यास नगरपालिकाको आर्थिक सहयोग तथा उपभोक्ता समितिको आर्थिकसँगै श्रमदानबाट गाँउको प्रत्येक घरमा धारा जडान भएको हो ।
व्यास–१४ का वडाध्यक्ष काजिमान श्रेष्ठले चुनावको बेला ठिन र नयाँगाउँकोटका स्थानीयलाई गरेको प्रतिवद्धता पुरा गर्दै गाँउमा एक घर एक धारा अभियानमार्फत ७१ वटा घरमा धारा जडान कार्य सम्पन्न गरिएको हो ।
व्यास नगरपालिकाको १६ लाख ५० हजार र उपभोक्ताको ४ लाख गरी कुल २० लाख ५० हजार लागतमा गाँउका ७१ घरमा धारा जडान गरिएको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
धारा जडानसँगै एक ग्राग्री पानी ल्याउन एक बिहान समय लाग्ने बाध्यता हटेको कराँदी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर थापाले बताउनुभयो ।
बिहान झिस्मिसेमै उठेर पानीको लिन टाढा जानुपर्ने बाध्यता अन्त्य भएपछि गाँउका महिलाहरु निकै खुशी भएका छन् ।खानेपानी लिन एक बिहान हिडेर जानुपर्ने बाध्यता हटेर घर कै धारामा पानी आउन थालेपछि दङ्ग हुनहुन्छ स्थानीय जुना थापा ।
गाउँदेखि टाढा रहेको मूलको पानी बोकेर खाँदै आएका त्यस क्षेत्रका बासिन्दालाई लिफ्टिङ प्रणालीमार्फत व्यास नगरपालिकाले घरघरमा खानेपानीको व्यवस्था गरेको हो ।
व्यासको नगरस्तरीय बजेटबाट वडामा खानेपानीको सुविधा पुर्याइएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताउनुभयो । ’कुल आठ सय २३ घरधुरीमध्ये अझै ९० घरधुरीमा खानेपानीको सुविधा पुर्याउन बाँकी छ ।’ वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, ’यसै आर्थिक वर्ष २०७६–७७ भित्रमा जडान गर्ने लक्ष्य राखिएको छ ।’
वडाध्यक्ष श्रेष्ठका अनुसार रुम्सीमा एक सय १३, ठिन र नयाँगाउँकोटमा ७१, कुलुङकोटमा २१, हर्कपुरको ३६ घरमा मास्दीमा ४९, सोधेर मरौटेमा ४६, छाब्दी कैजलेमा ३८, बेलभञ्ज्याङमा २२, राशिभञ्ज्याङमा २२ घरधुरी लगायत स्थानमा खानेपानी धारा जडान गरिएको छ । छाब्दी, कुलुङ र केशवटार क्षेत्रका २५० घरधुरीमा आव २०७४–०७५ मा नै धारा निर्माण गरिसकिएको थियो ।
यहि आर्थिक बर्षमा वडाको बाँकी ९० घरमा धारा जडान गर्ने वडाअध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँले थप्नुभयो ’गजौदी मूल बृहत खानेपानी योजनाको समेत डिपिआर निर्माण गारो कृषि उत्पादनमा समेत पानीको व्यवस्थापन गर्नेछु ।’
खानेपानी धाराको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रम उद्घाटन गर्दै न्यौपानेले व्यासको १४ नम्बर वडाबाट सुरु भएको ’एक घर एक धारा’ अभियान नगरपालिकाको सबै वडामा अभियानको रुपमा रहेको उहाँले बताउनुभयो ।
स्थानीय सरकारको स्रोत साधानले ठुला विकासका योजना ल्याउन नसके पनि चुनावको बेलामा गरेका प्रतिवद्धता पुरा गर्ने प्रमुख न्यौपानेले बताउनुभायो ।
आवश्यकताको प्रथाकिताको आधारमा क्रमिक रुपमा विकास अघि बढ्ने उहाँले बताउनुभयो । व्यास १३ र १४ मा एसओएस बालग्रामको १० करोड रुपैयाँ बराबर शिक्षाको कार्यक्रम संचालन भएको प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा व्यास १३ का वडाअध्यक्ष लेखबहादुर राना, कार्यपालिका सदस्य नरीमाया रानाले विकासको सवालमा सबैको धारणा साझा हुनुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाको जुनसुकै वडामा आवश्यक भएका विकासका पुर्वाधार विस्तार गर्न सबैले पहल गर्ने उहाँहरुको भनाइ थियो ।
प्रतिक्रिया राख्नुहोस्