दुलाहादुलही सिँगार्दै …
चितवन-विदेश जाने तयारी गरेका एक जोडीले स्वदेशमा नै व्यवसाय शुरु गरेको छ । क्यानडाको अनामिकी ब्यूटीशैलुनमा काम गर्दै गरेकी इन्द्रा श्रेष्ठले साइप्रसर रहेका आफ्ना पति अनिल श्रेष्ठलाई विदेश जान स्वदेश बोलाउनुभयो । पति स्वदेश फर्किएपछि उहाँमा यहाँ नै केही गर्ने सोच पलायो ।
यही सोचका साथ श्रेष्ठ दम्पतीले यहाँ डि लाभान्डिज नामक ब्यूटीशैलुन र स्पा सञ्चालनमा ल्याउनुभएको छ । इन्द्राले आफ्नो दुई वर्षे विदेशी अनुभवलाई स्वदेशमा नै प्रयोग गर्न थाल्नुभएको छ । भरतपुर महानगरपालिका–१० को नहर चोकमा शुरु भएको यो व्यवसायमा ती दम्पतीले रु ४० लाखभन्दा बढी लगानी गरेका छन् ।
इन्द्राका अनुसार यहाँ दुलाहादुलही सिँगार्ने, महिला र पुरुष दुवैका लागि सेवा दिने लाभान्डिजमा कपाल काट्ने, कपालको उपचार गर्ने, मसाल गर्नेलगायत महिला पुरुषले गर्ने सिँगारका सबै काम हुन्छ । शुभारम्भको अवसरमा पाँच पटक सेवा लिनेलाई छैटौँ पटक निःशुल्क सेवा दिने गरिएको छ । रु ५० को थ्रेडिङदेखि रु १८ हजारको सिँगार यहाँ हुने गर्दछ ।
गत माघ १३ गतेबाट शुरु भएको व्यवसायमा अहिले सन्तोषजनकरुपमा कारोवार भइरहेको छ । त्यसो त यहाँ राष्ट्रिय र स्थानीय कलाकारसमेत सेवा लिन आउने गरेका छन् । साइप्रसबाट होटल व्यवस्थापनमा स्नातक गर्नुभएका अनिलले विदेशमा भन्दा स्वदेशमै मिहिनेत गर्नुपर्ने बताउनुभयो ।
दुवै जना काममा लाग्ने भएकाले यसको अतिरिक्त अन्य दुईले यहाँ रोजगार गरिरहेका छन् । परिवारका सदस्यले पनि काममा साथ दिने भएकाले सेवाग्राही फर्किनु नपर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्