जिपी कोइराला उपचार केन्द्रमा आइसोलेसन कक्ष
दमौली-तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रले कोरोना भाइरसको शङ्कास्पद बिरामीको उपचार गर्न आइसोलेसन कक्ष स्थापना गरेको छ । अस्पतालमा २० श्ययाको आइसोलेसन कक्ष निर्माणको तयारी अन्तिम चरणमा पुगेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सो कक्षमा सो भाइरसका शङ्कास्पद बिरामीको उपचार गर्ने, खकार र सिङ्गानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइने निर्देशक डा श्रेष्ठले जानकारी दिनुभयो । कोरोनाको विश्वव्यापी सङ्क्रमणलाई मध्यनजर गरेर स्थानीयस्तरमा पूर्वतयारीस्वरुप आइसोलेसन कक्ष स्थापना गरिएको बताइएको छ ।
गण्डकी प्रदेश सरकारले यहाँसहित पोखराका पाँच अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरेको छ । पोखराका चार अस्पतालमा ७० श्ययाको आइसोलेसन कक्ष स्थापना गरिएको छ । मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक अस्पतालमा ३० र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० श्ययाको आइसोलेसन कक्ष स्थापना भएको बताइएको छ ।
स्वास्थ्य सहायता कक्ष स्थापना गण्डकी प्रदेशको मुख्य नाका तनहुँको आँबुखैरेनी गाउँपालिका –४ स्थित पुलजीपमा कोभिड–१९ परीक्षण गर्न आइतबार स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । सहायता कक्षबाट कोरोना भाइरसविरुद्ध सचेतनामूलक सन्देश प्रवाह गरिने र साबुनपानीले हात धुने तरिका सिकाइने गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । सहायता कक्षमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ ।
उक्त सहायता कक्षको गाउँपालिकाका अध्यक्ष थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, योजना अधिकृत बुद्धिप्रसाद भुसाललगायतले अवलोकन गर्नुभएको थियो । जिल्लाका विभिन्न स्थानीय तहले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
कोरोना भाइरस स्वासप्रश्वासबाट फैलने मात्र नभई हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाको माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग हुने स्थानीय तहले आह्वान गरेका छन् । नियमितरुपमा साबुनपानीले हात धुन, खोक्दा, हाछ्युँ गर्दा नाक र मुख ढाक्न, ज्वरो आउने, घाँटी दुख्ने तथा श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्