जुम्लामा राष्ट्रिय परिचयपत्र व्यवस्थापनबारे अन्तरक्रिया
जुम्ला । जुम्लामा राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारको नीति तथा कार्यक्रम २०७६/७७ देखि आगामी दुई वर्षभित्र रहेक नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य अनुसार जिल्लास्तर विवरण संकलन, जनशक्ति खटाउने तथा स्थानीय तहले आवश्यक समन्वय कसरी गर्ने भन्ने बारे छलफल गरिएको हो ।
राष्ट्यि परिचयपत्रका लागि विवरण संकलन गर्नका लागि स्थायी विवरण दर्ता स्टेशन स्थापना बारे पनि छलफल भएको थियोे ।
चालु आवमा जुम्लासहित झाँपा, संखुवासभा, चितवन, ललितपुर, गुल्मी र कञ्चनरपुर जिल्लामा राष्ट्रिय परिचय पत्रको विरण संकलन तथा वितरण सम्बन्धी अभियानै सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताउनुभयो ।
उहाँका अनुसार, नागरिकता भन्दा सहज, स्मार्ट कार्डका रुपमा प्रयोग गर्न सकिने, तीन पुस्ते विवरणसहितको राष्ट्रिय परिचय पत्र कोही नछुटोस् र कोही नदोर्होरिउन भन्ने लक्ष्यका साथ प्रभावकारी व्यवस्थापनबारे अन्तरिक्रया गरिएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले जानकारी दिनुभयो ।
उहाँले जिल्लामा राष्ट्यि परिचय पत्रका लागि विवरण संकलन र वितरणमा आठै स्थानीयतहले आवश्यक समन्वय गर्न निर्देशन दिनुभयो ।
उहाँले जुम्लाका करिब डेढ लाख नागरिकलाई राष्ट्रिय परिचय पत्रको पहुँचमा ल्याउन सबै संयन्त्र मजबुद बनाउन समेत आग्रह गर्नुभयो
आगामी चैत अन्तिम सातादेखि बैशाख अन्तिमसम्म जुम्लामा विवरण संकलन गर्ने र गाउँगाउँमा गई अस्थायी विवरण दर्ता स्टेशन स्थापना गरी काम अघि बढाईने तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । उहाँले राष्ट्रिय परिचय पत्रको महोत्व र आवश्यकता बारे गाउँगाउँमा पनि जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी आठै स्थानीय तहका जनप्रतिनिधिले राष्ट्रिय परिचय पत्र वितरणलाई प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।
राष्ट्रिय परिचय पत्रका फाईदा, व्यवस्थापन, विवरण संकलन, प्रयोगका बारे पञ्जीकरण विभागकी सुमित्रा पोखरेलले प्रस्तुती गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्