तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना उच्चस्तरीय समिति बैठकमा कोरोना संक्रमण पूर्व तयारी छलफल

काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले आज बिभिन्न प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीहरुसँग छलफल गरेकोे छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको बैठकमा सातवटै प्रदेशमा कोरोनाको संक्रमण रोक्न, त्यस सम्बन्धी प्रदेश सरकारको तयारी र केन्द्र सरकारले गरेको आवश्यक तयारीबारे छलफल भएको बैठकपछि सहभागीहरुले बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थ एवं सञ्चार तथा सुचना प्रविधी मन्त्री डा.युवराज खतिवडाले बैठकमा सातवटै प्रदेशमा कोरोनाको संक्रमण रोक्न भईरहेका प्रयास र तयारीबारे छलफल भएको बताउनुभयो ।

मन्त्री डा. खतिवडाले छलफलका कममा कोरोनाको संक्रमण रोक्ने कार्यक्रम सञ्चालन गर्न खरीद प्रक्रिया केही सहज बनाईनुपर्ने, केन्द्रबाट बिशेष सहजीकरण हुनुपर्ने जस्ता सुझावहरु आएको बताउनुभयो ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाईरसको संक्रमणबाट बच्न र बचाउनका निम्ति ब्यवस्थित ढंगले लाग्नुपर्ने कुरामा सबैको एक धारणा रहेको र भोली बस्ने कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकबाट आवश्यक निर्णय गरी कार्ययोजनाकासाथ तीनै तहका सरकार अगाडी बढ्ने बताउनुभयो ।

उपप्रधानमन्त्री एबं कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा भएको आजको बैठकमा मुख्यमन्त्रीहरुसँगै केन्द्र सरकारका मन्त्रीहरु, प्रदेश सरकारका सामाजिक विकासमन्त्रीहरुकासाथै बिभिन्न मन्त्रालयका उच्च अधिकारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button