अछामबाट एसईई परीक्षामा चार हजार छ सय परिक्षार्थी सहभागी हुने
अछाम । चैत्र ६ गतेबाट शुरु हुने यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अछाम जिल्लाबाट चार हजार छ सय ६६ परीक्षार्थी सहभागी हुने भएका छन् ।
चैत्र १७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षामा छात्र दुई हजार ४५ र छात्रा दुई हजार दुई सय ४९ गरी कुल चार हजार दुई सय ९४ जना र प्राविधिक तर्फ छात्र ८१ छात्रा २८ गरी एक सय ९ जना विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाई अछामका प्रमुख लक्ष्मण गिरीले जानकारी दिनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई अछमका अनुसार नियमित तर्फ चार हजार चार सय ३ जना र ग्रेड वृद्धितर्फ एक सय २३ जना छात्र एक सय ४० जना छात्रासहित जम्मा दुई सय ६३ जना विद्यार्थी परिक्षामा सहभागी हुदैछन् ।
उक्त परिक्षार्थीका लागि अछाम जिल्लाभर २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्रत्येक परीक्षा केन्द्रमा एक जना केन्द्राध्यक्ष रहने गरी २४ जना केन्द्राध्यक्ष समेत तोकिई उनीहरुलाई उभिमुखीकरण समेत गरिसकिएको ईकाई प्रमुख गिरीले बताउनुभयो ।
परीक्षा शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न प्रत्येक केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिने र परीक्षा मर्यादित बनाउनका लागि आवश्यक अनुगमन गर्ने व्यवस्था मिलाईएको कार्यालयले जनाएको छ ।
हरेक स्थानीय तहका शिक्षा शाखा प्रमुखलाई पनि परिक्षार्थीलाई प्रभाव नपर्ने गरी अनुमगन गर्न पत्राचार गरिसकिएको शिक्षा विकास तथा समन्वय इकाई अछाम प्रमुख गिरीले जानकारी दिनुभयो ।
सम्बन्धित केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिका पु¥याउने कार्य जारी रहेको र चैत्र ३ गतेभित्र सकिने जनाईएको छ । अछाम जिल्लाका सामुदायिक र संस्थागत गरी ९४ बिद्यालयका विद्यार्थीहरु माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामेल हुने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्