कञ्चनपुरको झलारीमा तरकारी सङ्कलन केन्द्र स्थापना
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ । किसानले उत्पादन गरेका कृषि उपज बिक्री वितरण गर्नमा समस्या आउन थालेपछि नवकिरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड झलारीले नवकिरण कृषि उपज बिक्री तथा सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको हो ।
संस्थाका अध्यक्ष डि वी कुश्मीले व्यावसायिक रुपमा आधुनिक तरकारी खेती गर्दै आएका सहकारीमा आवद्व ६४ समूहका दुई हजार बढी किसानहरू तरकारी सङ्कलन केन्द्रबाट लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कृषि उत्पादन हुने तर बिक्री नहुने वा सस्तो मूल्यमा तरकारी टोकरीमा राखेर टाउकोमा बोकी घरघरमा गई बिक्री गर्नुपर्ने अवस्थाको अन्त्य हुने दावी गर्नुभयो ।
तरकारी सङ्कलन केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले नगरमा पहिलो पटक किसानले उत्पादन गरेका कृषि उपज बिक्रीका लागि तरकारी सङ्कलन केन्द्र सञ्चालनमा आएपछि किसानले उत्पादन गरेका तरकारी लगायतका कृषि जन्य वस्तु बिक्री गर्न सहज हुने उल्लेख गर्नुभयो।
नगर प्रमुख ऐरले नगरपालिकाले किसानको हितलाई ध्यानमा राख्दै कृषिमा अधिक रुपमा बजेट विनियोजन गर्दै आएको बताउनुभयो । शुल्लाफाँटा नगरपालिकाले प्रत्येक बर्ष किसानका लागि कृषि यान्त्रिकरण, उन्नत बीउ बिजन, तालिम, भ्रमण र व्यावसायिक खेतीका लागि अनुदानका कार्यक्रम समेत सञ्चालन गर्दै आएको उहाँको भनाइ छ ।
किसान दुई परियोजना, हरियो वन र नवकिरण बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा तरकारी सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको हो ।
प्रतिक्रिया राख्नुहोस्