पर्यटक आकर्षित गर्न भद्रपुरमा आकर्षक ज्येष्ठ चौतारी
झापा। झापाको भद्रपुर ९ स्थित देवकोटाचोकमा आकर्षक ज्येष्ठ नागरिक चौतारी निर्माण गरिएको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित करिब १० लाख ५० हजारको लागतमा देवकोटा ज्येष्ठ नागरिक चौतारी निर्माण गरिएको हो ।
समारोहका बीच शनिबार ज्येष्ठ नागरिक तथा समाजसेवी विष्णुप्रसाद शिवाकोटी र दुर्गाप्रसाद भट्टराईले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
स्थानीयको सक्रियतामा विभिन्न दाताहरूबाट रकम सङ्कलन गरेर ३० जना मानिस अटाउने चौतारी निर्माण गरिएको निर्माण समितिका संयोजक सोमप्रसाद पौडेलले जानकारी दिनु भयो ।
चारआलीदेखि भद्रपुर हँुदै केचनासम्म जाने यात्रुहरूको विश्रामका लागि पनि चौतारी उपयोगी हुने पौडेलको भनाइ छ ।स्व. पदमप्रसाद दाहालकी श्रीमती कौसिला दाहाल र देवकोटा स्मारक संरक्षण समितिले निःशुल्क जग्गा प्रदान गरेपछि १० लाख १८ हजार ६ सय रुपैयाँ पर्यटनलाई आकर्षण गर्ने प्रकारको चौतारीको निर्माण गरिएको बताइएको छ ।
गत कात्तिक २३ गते शिलान्यास गरिएको चौतारीको निर्माण भद्रपुरका कलाकार सञ्जय प्रधानले गर्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्