कृषि उपज बिक्री तथा सङ्कलन केन्द्र सञ्चालन
कञ्चनपुर। किसानले उत्पादन गरेका कृषि उपज बिक्रीवितरणका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबजारमा कृषि उपज बिक्री तथा सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको छ । नवीकरण बचत तथा ऋण सहकारी संस्थाले शनिबारदेखिसञ्चालनमा ल्याएको केन्द्रको नगरप्रमुख दिलबहादुर ऐरले उद्घाटन किसानले उत्पादन गरेका तरकारी, दलहन, तेलहन र अन्य उत्पादन बिक्री गर्न सहज हुने बताउनुभयो ।
किसानका हितलाई ध्यानमा राख्दै नगरपालिकाले किसानका लागि कृषि औजार, उन्नत बीउबिजन र व्यावसायिक खेतीका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिँदै आएको उहाँले बताउनुभयो ।
सो अवसरमा सहकारीका अध्यक्ष धनबहादुर चौधरीले सहकारीमा आबद्ध भई आधुनिक र व्यावसायिकरुपमा खेती गर्दै आएका ६२ समूहका एक हजार बढी किसान केन्द्रबाट लाभान्वित हुने बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि उत्पादन हुने, बिक्री नहुने र सस्तोमै बजारमा बिक्री गर्नुपर्ने अवस्थाको अब अन्त्य हुनेछ ।”
केन्द्र सञ्चालनका लागि आधा दर्जन बढी दातृ संस्थाले सहकारीलाई सहयोग गरेका छन् । सञ्चालनमा ल्याइएको केन्द्रले तरकारीको बजारीकरणमा बढी जोड दिने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्