फाप्लु विमानस्थलमा हेल्थ डेक्स, अस्पतालमा आइसोलेसन वार्ड

सोलुखुम्बु । सोलुखुम्बुको तल्लो क्षेत्र तथा सदरमुकाममा सञ्चालनमा रहेको फाप्लु विमानस्थलमा हेल्थ डेक्स स्थापना गरिने भएको छ ।
कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेपछि काठमाडाँैबाट हवाई यात्रा हुँदै जिल्ला भित्रिने यात्रुहरुको स्वास्थ्य परीक्षणका लागि विमानस्थलमा नै हेल्थ डेक्स स्थापना गर्न लागिएको हो ।
स्वास्थ्य कार्यालयको पहलमा विमानस्थलमा तत्काल हेल्थ डेक्स स्थापना गरिने भएको छ । बाहिरबाट आएका यात्रु तथा खुम्बु जाने पर्यटकको स्वास्थ्य परीक्षण गर्ने र शङ्कास्पद बिरामी भेटिए उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिने स्वास्थ्य कार्यालयका प्रमुख कर्माचन्द राजवंशीले जानकारी दिनुभयो ।
आवश्यक जनशक्ति र औषधी उपकरण व्यवस्थापनका लागि आफू काठमाडाँै गएकाले चाँडै हेल्थ डेक्स स्थापना गरिने उहाँको भनाइ छ । यसअघि तेन्जिङ हिलारी विमानस्थल लुक्ला र पर्यटकीय पदमार्ग खरिखोलामा हेल्थ डेक्स स्थापना गरी यात्रुहरुको नियमित स्वास्थ्य परीक्षण भइरहेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई परीक्षण गर्नका लागि डेस्कको स्थापना गरिएको खुम्बु पासाङल्हामू गाउँपालिकाले जनाएको छ ।
विश्वभर सङ्क्रमणका रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सोलुखुम्बुको फाप्लु अस्पतालले पनि आइसोलेसन वार्ड स्थापना गरेको छ । फाप्लु अस्पताल परिसरमा सात वटा बेडसहित र आवश्यक औषधीसहित आइसोलेसन वार्ड स्थापना गरेको अस्पतालले जनाएको छ ।
अस्पतालमा चेकजाँच गर्न आएका बिरामीलाई शङ्का लागेमा छुट्टै कक्षमा राखेर स्वास्थ्य परीक्षण गरिने अस्पतालका निमित्त कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो ।
वार्डमा आवश्यक औषधी, माक्स, स्वास्थ्यकर्मी तयारी अवस्थामा राखेको उहाँले बताउनुभयो । शङ्कास्पद बिरामी भेटे तत्काल टेकु रेफर गरिने अस्पतालले जनाएको छ ।
कोरोना भाइरसको त्रास फैलिएसँगै अस्पतालमा समेत मास्क अभाव भएको छ । अस्पतालमा अहिले स्वास्थ्यकर्मीहरुका लागि समेत मास्क अभाव भएको शेर्पाले बताउनुभयो ।
स्वास्थ्य कार्यालय सोलुखुम्बु र गाउँपालिकाको सहकार्यमा हेल्थ डेस्को स्थापना गरिएको छ । आवश्यकता अनुसार जिल्लाका बिभिन्न स्थानमा हेल्थ डेस्क स्थापना गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै, महाकुलुङ गाउँपालिकाले कोरोना विरुद्धको जनचेतनामुलक कार्यक्रम गरेको छ । कोभिड–१९ अर्थात कोरोना भाइरसको बिषयको भ्रम चिर्न र सचेतना फैलाउन गाउपालिका स्वास्थ शाखाले सार्वजनिकस्थलमा श्रब्य, दृश्य सामाग्री प्रदर्शनदेखि पर्चा पम्प्लेट टाँस गर्नेलगायतको कार्यक्रम गरेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक हरि आचर्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्