वुहानमा महामारी नियन्त्रणमा, डब्लूएचओले भन्यो– अब महामारीको केन्द्रबिन्दु युरोप
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) को केन्द्रबिन्दु अब यूरोप भएको बताएको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेससले अहिलेको संक्रमणको अवस्थाले महामारीको केन्द्रबिन्दु यूरोप भएको बताएको बीबीसीले जनाएको छं ।
चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका १३८ देशमा पुगेको छ । चीनमा महामारी नियन्त्रण नजिक पुगिसकेकोले महामारीको केन्द्रबिन्दु यूरोपलाई मानिएको हो ।
डब्लूएचओका प्रमुख गेब्रेससले सबै देशहरुलाई जीवन बचाउन आक्रामक उपाय, समुदाय परिचालन र सामाजिक दूरी प्रयोग गर्न आग्रह गरे । उनले अहिले बलिरहेको संक्रमणको आगो थप फैलन नदिन सबै लाग्नुपर्ने बताए । धेरै यूरोपेली देशहरुमा संक्रमण र मृत्युमा एकदमै उकालो लागेको खबर आइरहेको भन्दै उनले चिन्ता गरेका छन् ।
यूरोपेली देशमध्ये इटलीमा संक्रमण र मृत्यु निकै उच्च बनेको छ । पछिल्लो २४ घण्टामा मात्र इटलीमा कोरोना भाइरसको संक्रमणबाट २५० जनाले ज्यान गुमाएका छन् । यो सँगै इटलीमा ज्यान गुमाउनेको संख्या १२६६ पुगेको छ । इटलीमा १७ हजार ६६० जनामा संक्रमण पुष्टि भैसकेको छ ।
यस्तै स्पेनमा १३३ जनाको ज्यान गइसकेको छ भने पाँच हजार २३२ जनामा संक्रमण पुष्टि भएको छ । जर्मनी, फ्रान्स, स्वीजरल्याण्ड लगाएतका देशमा पनि संक्रमण उच्च बनेको छ । युरोपमा संक्रमण फैलिएपछि अमेरिकाले बेलायत बाहेकका देशबाट उडान बन्द गरेको छ भने अरु विभिन्न देशले पनि यूरोपबाट आवातजावात बन्द गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्