शिक्षिकाको हत्या आरोपमा २ जना पक्राउ
ओखलढुंगा -ओखलढुंगाको मोलुङ गाउँपालिका –५ प्राप्चाकी ३२ वर्षिय शिक्षिका हिरादेवी कटुवाल कार्कीको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् ।
कार्कीको हत्या गरेको अभियोगमा सिद्धिचरण नगरपालिका–९ का २५ वर्षिय रविराज रम्तेल र उनकी श्रीमती वर्ष २३ की कमला सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
रम्तेल दम्पती बीच भएको झगडा छुट्याउँदा शिक्षिकाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेसँगै उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले बताउनुभयो ।
‘अनुसन्धानका क्रममा रम्तेल दम्पतीबीच भएको झगडा छुट्याउन जाँदा कार्कीको हत्या भएको देखिन्छ, तर थप तथ्य आउन बाँकी छ ।’ प्रहरी निरीक्षक बस्नेतले भन्नुभयो । उनिहरु विरुद्ध ओखलढुंगा जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
रम्तेलकी श्रीमती कमला माइत मोलुङ्ग गाउँपालिका–५ प्राप्चामा बस्दै आएकी थिइन् । श्रीमतीलाई लिन गएका रम्तेल र श्रीमतीबीच कुटाकुट भइरहेको समयमा छुट्याउन जाँदा शिक्षिका कार्कीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा रविराजले कार्कीको हत्या गरेको स्वीकारेका छन् ।मृतक कार्कीको टाउकोको पछाडी भाग र चिउडोमा ढुंगाले हानेको जस्तो चोट देखिएकाले स्थानीयले हत्याको आशंका गरेका थिए ।
प्रहरीका अनुसार रविराज चोरी मुद्दामा पक्राउ परी ५० हजार रुपैयाँ धरौटी र करिब दुई महिना कारागारमा कैद भुक्तान गरी भर्खरै छुटेका थिए । बेमेलका कारण उनकी श्रीमती माइतमा बस्दै आएकी थिइन् ।
मृतक शिक्षिका कार्की सोहि गाउँपालिकाको वडा नं. ६ श्रीचौरमा रहेको सहिद पेशल आधारभूत विद्यालयमा २०६६ सालदेखि बालशिक्षा सहयोगीका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँका अढाई वर्षको छोरा हुनुहुन्छ । उहाँका श्रीमान एक महिना अघिमात्र वैदेशीक रोजगारीबाट घर फर्किनु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्