तपाईँ सुन्दै हुनुहुन्छः

खडेरी पीडित किसानलाई मकैको बीउ वितरण शुरु

रासस । खोटाङको खोटेहाङ गाउँपालिकाले खडेरी पीडित किसानलाई मकैको बीउ वितरण शुरु गरेको छ ।

यसवर्ष खडेरीका कारण मकै छर्न नपाउँदा र छरेको मकैको बिरुवा मरेपछि बीउ नै जोगाउन नसकेका किसानलाई गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा मकैको बीउ वितरण शुरु गरेको हो ।

धमाधम मकै छर्ने बेला काठमाडौँबाट रु एक लाख २० हजारमा ८०० केजी खरिद गरेर ल्याएको मकैको बीउ वितरण शुरु गरिएको गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताउनुभयो ।

खोटेहाङ गाउँपालिका–३ सावाकटहरे, वडा नम्बर–७ खोटाङबजारका बेँसी क्षेत्रका किसान तथा वडा नम्बर–९ लिच्कीराम्चेका किसानलाई वितरण गर्नेगरी मनोकामना ३ जातको ५०० केजी र देउती जातको मकैको ३०० केजी बीउ खरिद गरिएको जनाइएको छ ।

खरिद गरिएको बीउले डढुवा सहन सक्ने, घोगा नकुहिने र ध्वाँसे नलाग्ने गाउँपालिकाका कृषि शाखाका प्राविधिक ममता खवासले दाबी गर्नुभयो ।

यस वर्षको खडेरीले जिल्लाका सबैजसो स्थानीय तहमा ठूलो क्षति गरेको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा खडेरीका कारण सबै बालीनाली सखाप भएपछि खाद्यान्न अभाव भएको छ ।

अनिकालबाट बचाउन नगरपालिकाले गत असोजबाटै परिवार सङ्ख्याको आधारमा आवश्यक खाद्यान्न उपलब्ध गराइरहेको छ । नगरवासीलाई भोकमरीबाट बचाउन चामल र दाल उपलब्ध गराइएको नगरप्रमुख इवन राईले जानकारी दिनुभयो ।

दैनिक छाक टार्नको लागि एक मात्र विकल्प रहेको खेतीपाती लामो समयको खडेरीले सखाप पारेपछि स्थानीयवासी चिन्तित बनेका छन् । खेतीपातीबाहेक अन्य आम्दानीको अन्य स्रोत नहुने हलेसी क्षेत्रका स्थानीयवासीमा यस वर्षको खडेरीले खाद्यान्नको चरम अभाव भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button