अछामका तीन ठाउँमा हेल्थ डेस्क स्थापना गरिने
फाइल तस्बिरअछाम । विश्वभर फैलिरहेको कोरोना भाईरस (कोभिड -१९) को संक्रमण जिल्लामा भित्रिन नदिन अछामका तीन ठाउँमा हेल्थ डेस्क स्थापना गरिने भएको छ । जिल्लाका मुख्य तीन् नाकामा हेद्यथ डेस्क स्थापना गरिने भएको हो ।
सडक सञ्जालसँग जोडिएको अछामको पूर्वी सिमाना बेलखेत, पश्चिमि सिमाना चौखुट्टे र हवाई स्थल साँफेबगरमा हेल्थ डेस्क स्थापना गरिने अछामका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद तयारी समितिका संयोजक भोजराज श्रेष्ठले जानकारी दिनुभयो ।
हेल्थ डेस्कको व्यवस्थापन सम्बन्धित स्थानमा रहेका स्थानीय तहले नै गर्ने भएका छन् । चौखुट्टेमा रहने हेल्थ डेस्कको चौरपाटी गाउँपालिका, बेलखेतमा रहने हेल्थ डेस्कको पञ्चदेवल विनायक नगरपालिका र साँफे एयरपोर्टमा रहने हेल्थ डेस्कको साँफेबगर नगरपालिकाले स्वाथ्यकर्मी सहितको टोली पठाएर सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।
हेल्थ डेस्कमा तत्कालका लागि कोरोना भाईरस फैलिन नदिने विभिन्न जानकारी मूलक सामग्री, बच्ने उपाय, सचेतनाका कार्यहरु गरिने भएको जिल्ला जनस्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताउनुभयो ।
जिल्ला भित्रिने र जिल्लाबाट बाहिर जाने यात्रुलाई भाईरसको सम्भावित जोखिमबाट बच्न र फैलिन नदिने बिभिन्न जनचेतनाका कार्य समेत गरिने भएको छ । अछामका सबै स्थानीय तहका सरोकारवालासंग छलफल गर्दै यसबारे व्यापक जनचेतना जगाउने, प्रचार सामग्री स्थानीयसम्म पु¥याउने र जोखिमबाट बच्ने उपायबारे जानकारी गराउने गरी तयारी थालिएको छ ।
कोरोना भाईरसबाट संक्रमित बिरामीको उपचारका लागि जिल्ला अस्पताल अछाममा आठ शैयाको तथा बयालपाटा अस्पतालमा तीन शैयाको आईसोलेशन कक्ष सञ्चालन गर्ने गरी तयारी थालिएको छ । संकास्पद बिरामीको लागि आईसोलेसन कक्ष स्थापना गरिएको स्वास्थ्य प्रमुख ढुंगानाले बताउनुभयो ।
कोरोना भाईरस संक्रमणको कारणले विभिन्न उपभोग्य बस्तुको अभाव हुन नदिन प्रयास गरिएको र कोही कसैले कालोबजारी गरेको पाईएमा कारबाही हुने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । सामानहरुको नियमित आपुर्ति भैरहेकाले कालोबजारी गरेको पाईएका प्रहरी प्रशाशनलाई खबर गर्न उहाँले आग्रहसमेत गर्नुभयो ।
जिल्लाका सबै स्थानीय तहलाई बढी भिडभाड हुने खालका कार्यक्रम नगर्न नगराउन जानकारी गराईएको भन्दै स्थानीय तहले समेत त्यस्ता कार्य रोक्न अग्रसरता लिनुपर्ने प्रशाशन कार्यालयले जनाएको छ ।
जिल्लामा चैत्र १ गतेबाट शुरु हुने दादुरा रुबेला खोप अभियान समेत यथाअवस्थामै सञ्चालन हुने र खोप अभियान सफल पार्न सबैले सहयोग गर्न आग्रह समेत गरिएको छ ।
आजै जिल्लाका विकास साझेदारसंग छलफल गरी कोरोना भाईरस फैलिन नदिने बारे छलफल गरिएको छ । विकास साझेदार संस्थाका प्रतिनिधिहरुले यसबारे सचेत हुने र सचेतना फैलाउने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्