तपाईँ सुन्दै हुनुहुन्छः

गाउँपालिकाको भवन बनाउन जग्गादान

पर्वत । पर्वतको पैयुँ गाउँपालिकालाई स्थानीयले भवन बनाउन जग्गादान गरेका छन् । स्थानीय बासिन्दाहरुले गाउँपालिकाको भवन बनाउन १२ रोपानी भन्दा बढि जग्गा निःशुल्क प्रदान गरेका हुन् । पैयुँ गाउँपालिकाका विभिन्न वडाका ३० जनाले आफ्नो जग्गा गाउँपालिकालाई दिएको अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले जानकारी दिनुभयो ।

गाउँपालिकाको भवन अहिले हातेमालो चोकमा भाडाको घरमा सञ्चालन भईरहेको छ । स्थानीय क्षेत्रबहादुर राना, भीमबहादुर राना, केशवप्रसाद गौतम, पदमबहादुर रानालगायत ३० जनाले गाउँपालिकालाई १२ रोपनी पाँच आना एक पैसा बराबरको जग्गा निःशुल्क दिएका हुन् ।

प्रतिआना एक लाख ६० हजार मुल्य रहेको जमिन गाउँलेले स्थानीय सरकारलाई दिएपछि भवन बनाउन सहज भएको उपाध्यक्ष जसमती गुरुङले बताउनुभयो ।

गाउँपालिकाको २०७६ पुष २१ गते बसेको कार्यपालिका बैठकले जग्गा प्राप्तिको निर्णय गरको थियो । गाउँपालिकाको निर्णयसहित बुधबार जिल्ला मालपोत कार्यालयमा आएर स्थानीयले जग्गा गाउँपालिकाको नाममा पास गरेको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

स्थानीय बासिन्दाहरुले दिएको जग्गामा भवन बनाउन कार्यपालिकाले निर्णय गरेको छ । भवन बनाउन गतवर्षको गाउँ परिषदबाट एक करोड रुपैयाँ बिनियोजन भएको छ । जग्गाकै अभावमा पहिलो वर्ष भवन बनाउने योजना पुरा भएको थिएन । अहिलेसम्म केन्द्र कहाँ रहने भन्ने टुंगो समेत नलागेको अवस्थामा स्थानीयले जग्गा दिएपछि हुवासमै केन्द्र रहने निश्चित जस्तै छ ।

जिल्लाका अधिकाँस स्थानीय तहका कार्यालय भाडाका घरमा छन् । मोदी गाउँपालिकाले गत वर्षदेखि भवन बनाउन शुरु गरेको छ । फलेवास नगरपालिका सिँचाई कार्यालयको भवनमा रहेको छ भने कुश्मा नगरपालिका भाडाको घरमा छ ।

महाशिला गाउँपालिका साविकको बालाकोट गाविसको भवनमा रहेको छ भने जलजला गाउँपालिका भाडाको घरमा छ । विहादी गाउँपालिका भाडाकै घरमा चलेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button