सबै राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरु
चितवन। देशका सबै राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरु भएको छ । गत शनिबारदेखि हुने भनिएको चरा गणना मौसमका कारण दुई दिनपछि सोमबारदेखि शुरु भएको हो ।
बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्रलगायत देशभरका राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना एकसाथ शुरु भएको हो । हरेक वर्ष ४ जनवरीदेखि १९ जनवरीसम्म चरा गणना हुने गर्दछ ।यस पटक ६५ ठाउँमा गणना हुने जनाइएको छ ।
चितवनमा नारायणी नदी किनार र निकुञ्ज तथा राप्ती किनारमा फरक फरक टोलीले जलचरा गणना गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चितवन राष्ट्रिय निकुञ्जको कुमरोज सामुदायिक वनबाट चरा गणना शुरु गरिएको छ”, चराविद्समेत रहनुभएका बिडारीले भन्नुभयो, “नारायणी नदी र राप्तीको किनारमा चरा गणना गरिँदैछ ।” कुमरोज वनदेखि कसराको पुलसम्म र निकुञ्जभित्रको लामीताल, तमोरताल, बीसहजारीताल, बाटुली पोखरीलगायतका तालहरुमा चरा गणना गरिने जनाइएको छ ।
सोसाइटीको पूर्वअध्यक्ष टिका गिरीले यसपटक दिव्यनगर र माडीको रिउखोलामा रहेका जलचराको पनि गणना गरिने जानकारी दिनुभयो । गणनामा क्यामेरा, बाइनोकुलर र टेलिस्कोपको प्रयोग गरिने उहाँले बताउनुभयो । सोमबार भएको गणनामा चखेवा जातको चरा र जलकौवाको सङ्ख्या बढी पाइएको छ । अघिल्लो वर्षको चरण गणनामा चितवन निकुञ्ज र आसपासका क्षेत्रमा १५० प्रजातिका जलचरा भेटिएको थियो ।
चितवनमा सोसाइटी, राष्ट्रिय निकुञ्ज तथा चराविद्हरुको टोलीले चरा गणना गरिरहेको छ । चरासँग सम्बन्धित व्यक्तिका साथै संरक्षणकर्मी र गणक गरी २२ जनाको टोली चरा गणनामा सहभागी छन् । रासस
प्रतिक्रिया राख्नुहोस्