माघ २४ देखि चितवनमा पांँचौ ‘क्यान इन्फोटेक मेला’ हुने
चितवन । ‘चितवनको समृद्धिःसूचना प्रविधि’ भन्ने मुल नाराका साथ कम्युटर एशोसिएसन नेपाल चितवनको आयोजनामा यही माघ २४ देखि क्यान इन्फोटेक मेला हुने भएको छ ।
क्यान महासंघ चितवनले आज भरतपुरमा पत्रकार सम्मेलन गरी ‘प्रभु पे क्यान इन्फोटेक चितवन २०२०’ आयोजना गर्ने जानकारी दिएको हो ।
कार्यक्रममा बोल्द्रै क्यान चितवनका अध्यक्ष सन्तोषजनक भुषालले सूचना प्रविधि र मनोरञ्जनको क्षेत्रमा जनचेतना अभिबृद्धि गर्न र नयांँ युवापुस्तालाई सक्षम र प्रविधिमैत्री जनशक्ति उत्पादन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको बताउनुभयो ।
उहांँका अनुसार पाँच दिनसम्म चल्ने मेलामा नेपालको सुचना प्रविधि, मनोरञ्जन तथा पछिल्लो समय विकास भएको प्रविधि सम्बन्धी उत्पादनहरु राखिने छन । मेलालाई थप परिस्कृत र परिमार्जित गर्ने उद्देश्यले यस पटकको संस्करणमा ह्याकथन प्रतियोगिता गर्न लागिएको आयोजकले बताएको छ ।
यस्तै मेलामा सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउने युवाहरुलाई लक्षित गर्दै सफ्टवेयर तथा स्टार्टअप हरुका लागि बिशेष छुटसहित व्यवस्था मिलाइने क्यानका केन्द्रीय सदस्य भानु शर्माले बताउनुभयो । मेलामा सूचना प्रविधिमा काम गर्ने विभिन्न सघसस्थाहरुलाई साइबर सेक्युरीटी, सूचना प्रविधि साक्षरता लगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।
मेलामा गत बर्ष जस्तै विभिन्न रोबोटिक्स प्रर्दशनी, अन्र्तरबिद्यालय नृत्य प्रतियोगितासमेत राखिएको शर्माले जानकारी दिनुभयो । मेलाले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार बिस्तार गर्न, ग्राहकका आवश्यकताबारे थाहा पाउन, बजार सर्वेक्षण गर्न, नविनतम प्रविधिहरु सार्वजनिक गर्न तथा ग्राहकहरुसँग समबन्ध स्थापित गर्न अवसर प्रदान हुने आयोजकको दावी छ ।
मेलामा अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोलुशन, मोबाइल फोन सोलुशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक सेक्युरिटी सोलुशन, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्याप्टप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एसेसिरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुशन, सिसिटीभी, हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनीको लागि राखिने आयोजकले जानकारी दिएको छ ।
नारायणगढको लायन्सचोकमा आ्योजना हुने मेलामा ८१ वटा विभिन्न सूचना प्रविधिका स्टलहरु रहनेछ । ४५ लाख रुपैयांँ आम्दानी गर्ने लक्ष्य राखिएको मेलामा ४३ लाख रुपैयांँ खर्च हुने अनुमान गरिएको छ । माघ २८ सम्म चल्ने उक्त मेलामा एक लाख ५० हजार अवलोकनकर्ताको उपस्थिति रहने आयोजकको अपेक्षा छ ।
क्यान सन् २०१५ मा कम्प्युटर एशोसिएसन नेपाल महासंघमा रुपान्तरित भएसंँगै हाल देशभरि ७ प्रदेश समिति र ५८ वटा जिल्ला शाखाको रुपमा फैलिएको छ ।
प्रतिक्रिया राख्नुहोस्