महोत्तरीमा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर, २१ हजार आठ सय ४९ जनाकोे स्वास्थ्य परीक्षण
काठमाडौँ । नेपाली सेना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महोत्तरीमा आयोजना गरेको बृहत स्वास्थ्य शिविरमा २१ हजार आठ सय ४९ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता सहायक–रथी विज्ञानदेव पाण्डेले गत मंसिर २७ गतेदेखि यही पुस ६ गतेसम्म सञ्चालित स्वास्थ्य शिविर संख्यात्मक र विशेषज्ञ सेवा उपलब्धताका आधारमा अहिले सम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।
एक सय ८० जना विशेषज्ञ चिकित्सकको टोलीले १० दिनसम्म सञ्चालित शिविरका क्रममा तीन सय २९ जनाको सल्यक्रिया गरिएको थियो भने शिविरमा निःशुल्क औषधी वितरण गरिएको थियो ।
पत्रकार सम्मेलनमा प्रवक्ता पाण्डेले नेपाली सेनाले स्वास्थ्यको पहुँच नपुगेका दुर्गमस्थानहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनुभयो ।
शिविरबाट लामो समयदेखि आन्द्रामा प्वाल परेका, जटिल गर्भावस्थामा रहेका, हर्निया भएका र ट्युमरका बिरामीले लाभ लिएको शिविर संयोजक सहायकरथी डा. देवेन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. बिकास देवकोटाले स्वास्थ्यको सूचकमा पछि रहेको प्रदेश नम्बर २ का जिल्लामा स्वास्थ्यमा नागरिकको पहुँच बिस्तार गर्ने उद्देश्यले शिविर सञ्चान गरिएको जानकारी दिनुभयो ।
नेपाली सेना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संयुक्तरुपमा आयोजना गरेको शिविरमा ७० लाख रुपियाँ खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतिक्रिया राख्नुहोस्