तपाईँ सुन्दै हुनुहुन्छः

दलितका मुद्दालाई संस्थागत गर्न फेरि आन्दोलन

काठमाडौँ । काठमाडौंमा भएको एक कार्यक्रममा सहभागी प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका दलित सांसदहरुले राजनीतिक परिवर्तनको आन्दोलन सकिए पनि त्यसको संस्थागत विकास र सहभागितामूलक लोकतन्त्र स्थापनाको आन्दोलन अझै जारी रहेको बताउनुभएको छ ।

क्रियाशील दलित पत्रकार संघ नेपालद्वारा आज आयोजित ‘मिडियामा दलित सांसद’ विषयक संवाद कार्यक्रममा सहभागी सांसदहरुले सबै जातजाती मिलेर व्यवस्था परिवर्तन गरे पनि अहिले जातीय बिशिष्टतालाई छोडेर वर्गको मात्र कुरा उठ्नु चिन्ताको विषय भएको बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मानबहादुर बिश्वकर्माले लामो त्याग र बलिदानीबाट प्राप्त उपलब्धी पनि जोगाउन कठिन हुने अवस्था आएको भन्दै फेरि सबै सचेत हुनुपर्ने बताउनुभयो ।

पूर्वमन्त्री एवं नेकपाका नेता छविलाल बिश्वकर्माले सत्ता र व्यवस्था परिवर्तन सत्तामा भईरहनेहरुका लागि मात्रै नभई सबै वर्ग, समुदायका लागि हुनुपर्ने भन्दै त्यसमा खबरदारी जरुरी रहेको बताउनुभयो ।

पूर्वमन्त्री मिन बिश्वकर्माले पत्रकारिता मजबुत र भरपर्दो भएमा लोकतन्त्र पनि बलियो हुने भएकाले विचारको विनिमय गर्ने मिडिया पनि समावेशी हुन जरुरी रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा सांसद आशाकुमारी विक, प्रकाश रसाईली स्नेही, अञ्जना बिशंखे, दुर्गा विश्वकर्मा, लक्ष्मी परियार, दुर्गा कुमारी विश्वकर्मा, बिमला विश्वकर्मा, पार्वती कुमारी बिशुंखे, खेमराज नेपालीलगायतले संसदमा आफूहरुले बोलेको कुरा मिडियाले नसमेटेको भन्दै गुनासो गर्नुभयो ।

संघका अध्यक्ष पवित्रा सुनारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष टिकाराम सुनारले दलितका मुद्दाहरुमा सांसद र मिडियाको सहकार्यका विषयमा आफ्नो धारणा राख्नुभएको थियो भने सचिव बिश्वास खड्काथोकीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button