कर्मचारी अभावका कारण स्थानीय तहमा गएको बिकास बजेट खर्च हुन नसकेको सांसदहरूको भनाई
काठमाडौँ । दीगो बिकास तथा सुशासन समितिको आजको बैठकमा सांसदहरूले कर्मचारी अभावका कारण स्थानीयले बिकास बजेट खर्च गर्न नसकेको बताउनुभएको छ ।
बैठकमा सांसद दिनानाथ शर्माले योजना कार्यान्वयन गर्ने र बजेटको निकासा दिने कर्मचारी अभावका कारण स्थानीय तहमा गएको बिकास बजेट खर्च हुन नसकेको बताउनुभयो ।
उहाँले योजना कार्यान्वयन तथा बजेट खर्च गर्ने क्षमतामा सुधार हुन नसके सन् २०३० सम्मका लागि तय गरिएका दीगो बिकासका लक्ष्यहरू समेत पुरा हुन नसक्ने धारणा राख्नुभयो ।
सांसद कालीबहादुर मल्लले दीगो बिकासका लक्ष्यहरू हासिल गर्न अपनाउनुपर्ने रणनीति निर्माणका लागि संघ–प्रदेश र स्थानीय तह बीच आवश्यक समन्वय र सहकार्य हुन नसकेको बताउनुभयो ।
समितिका अध्यक्ष तारादेवी भट्टको अध्यक्षतामा बसेको बैठकमा सांसदहरू भैरवसुन्दर श्रेष्ठ, कमला वली, मुत्ताकुमारी यादव, प्रमिला यादव, डा बिमला राई पौडेललगायतले बिभिन्न मन्त्रालयहरूमा आवश्यकता भन्दा धेरै महाशाखा र शाखाहरू रहँदा सिंहदरबारमा ठूलो संख्यामा कर्मचारीहरू रहने र दुर्गम क्षेत्रमा अभाव हुने गरेको हुनाले त्यलाई तत्काल सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाले प्रदेश लोकसेवा आयोगको कार्यविधि सम्वन्धी कानुन निर्माण हुन ढिलाई भएका कारण कर्मचारी व्यवस्थापनमा समस्या देखिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्