लिम्पियाधुरा, लिपुलेक क्षेत्र नेपाल कै हो, यथाशीघ्र विवाद सुल्झाउ : नेता नेपाल
कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले भारतद्वारा आफ्नो नक्सामा समेटिएको दार्चुलाको लिम्पियाधुरा, लिपुलेक क्षेत्र नेपाल कै भएकोले यथाशीघ्र विवाद सुल्झाउन पर्ने बताउनु भएको छ ।
प्रेस संगठन नेपाल, कञ्चनपुर शाखाले आइतबार बिहान महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासाको जवाफ दिँदै नेता नेपालले भारतले छिमेकीको मन जित्ने गरी सम्बन्ध कायम गर्नुपर्ने धारणा राख्नुपर्ने बताउनुभयो ।
पुर्वप्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले भर्खरै शुरु भएको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सबैको सहयोग र सहकार्य आवश्यक रहेको समेत औँल्याउनु भयो । उहाँले सन् २०२० मा २० लाख विदेशी पर्यटकहरुलाई नेपालमा स्वागत गर्ने लक्ष्यका साथ शुरु गरिएको महाअभियानलाई नेपाल भ्रमण दशक (२०२० देखि २०३०) का रुपमा मनाउनु पर्ने सुझाव दिनुभयो । पर्यटन विकासबाट पनि देशले समृद्घी हाँसिल गर्न सक्ने उहाँको भनाइ थियो ।
सरकारका काम प्रति सन्तुष्ट भए नभएको बारे पत्रकारहरुले राखेको प्रश्नमा नेता नेपालले सरकारसंग नागरिकका आकांक्षा पर्याप्त हुने हुँदा थोरै उपलब्धीमा सन्तुष्ट भइहाल्ने अवस्था नरहेको बताउनुभयो । अहिले दुई तिहाइ सहितको सरकार भएकोले द्रुतगतिमा काम गरेर देखाउने बेला भएको नेता नेपालको भनाई थियो ।
प्रतिक्रिया राख्नुहोस्