तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भ्रमण वर्षलाई लक्षित गरी वेदकोटमा जनप्रतिनिधि सम्मेलन

कञ्चनपुर  । कञ्चनपुरको वेदकोट नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जनप्रतिनिधि सम्मेलन गरेको छ । कञ्चनपुर जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधिहरूको अनुभव आदानप्रदान तथा पर्यटकीय क्षेत्रको प्रबर्द्धन र प्रचारका लागि कार्यक्रम आयोजना गरिएको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बताउनुभयो । संघीय संरचनासंगै जनप्रतिनिधि निर्वाचित भएको दुई वर्ष भन्दा लामो समय भइसकेको अवस्थामा बहुउद्देश्यीय कार्यक्रमका रूपमा जनप्रतिनिधि सम्मेलन गरिएको उहाँको भनाइ छ ।
वेदकोट ताल, लिङ्गेश्वर धाम, भम्का धाम, पाण्डव ताल, चुनेपानी स्थित शिव मुर्ती, शिद्धसरोवर ताल, वेदकोट भ्यु टावर, छिलछिले झरना, घटाल थान लगायत विभिन्न समुदायका संस्कृति वेदकोटका मुख्य पर्यटकीय आर्कषकका केन्द्र रहेको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिनुभएको छ । उक्त सम्मेलनले यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा महत्वपुर्ण टेवा पुग्ने नगर प्रमुख चन्दले विश्वास व्यक्त गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आथित्यतामा पर्यटकीय स्थल वेदकोट तालमा शनिबार आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य डा. दीपक प्रकाश भट्ट र नर बहादुर धामी, सुदूरपश्चिम प्रदेशका सभामुख, उपसभामुख, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्ट, पुर्व मन्त्री दीर्घ सोराडी, पुर्व सांसदहरू, राजनितिक दलका प्रतिनिधि एंव स्थानीय तहका जनप्रतिनिधि लगायत सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button