तपाईँ सुन्दै हुनुहुन्छः

कुटिडाँडा, कन्याम र फिक्कल सडकखण्ड विस्तार

इलाम । आन्तरिक तथा वाह्य पर्यटकको चाप रहने इलामको पाथिभरा, कन्याम र फिक्कल क्षेत्रको सडक बिस्तारले तीव्रता पाएको छ । सो सडक खण्डमा सवारीको चाप वृद्धि भएपछि विस्तारको काम अगाडि वढाइएको जनाइएको छ ।

यसैगरी मेची राजमार्ग अन्तर्गत पाथिभरादेखि फिक्कलसम्मको सडक विस्तारले गति लिएको छ । वर्षभरि नै पर्यटकको चाप रहने रोङ गाउँपालिकाको कुटिडाँडादेखि सूर्योदय नगरपालिकास्थित फिक्कलसम्म सडक बिस्तारले तीव्रता पाएको छ ।

पर्यटकको आकर्षणको केन्द्र रहेको साना पाथिभरा, कन्याम र फिक्कल क्षेत्रमा सडक साँघुरो भई दुर्घटना बढेपछि सडक डिभिजन इलामले धमाधम चौडा गरिररहेको छ । सङ्घीय सरकारले घुम्नैपर्ने १०० पर्यटकीयस्थलमा ती स्थानलाई समावेश गरेपछि सडक चौडा गर्न थालिएको हो । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले मेचीराजमार्गको कुटिडाँडा फिक्कल सडक खण्डको १२ किलोमिटर क्षेत्र डबल लेनको जानकारी दिनुभयो ।

बिस्तार कार्यक्रमसँगै पर्यटक र पैदलयात्री हिँड्न अलग पैदल मार्ग तयार हुनेछ । राजमार्गको दायाँबायाँ साढे सात मिटरको दरले भौतिक संरचना हटाइएको थियो ।

राजमार्गको रोङ गाउँपालिका क्षेत्रमा दायाँबायाँ साढे आठ मिटर क्षेत्रमा निर्माण भएका भौतिक संरचना हटाएर सडक चौडा गर्ने कामलाई तीव्रता दिएको छ । पाथिभरा मन्दिर दर्शन गर्न आउने भक्तजनले ल्याएको सवारीसाधन पार्किङकै समस्या भएपछि कुटिडाँडा क्षेत्रको सडक चौडा गरिएको हो ।

मार्सेखोल्सोदेखि हाँसपोखरीसम्मको ४७५ मिटर क्षेत्रको सडक चौडा प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष शमशेर राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button