तपाईँ सुन्दै हुनुहुन्छः

सन् २०२० मा चीन नेपाल सम्बन्ध अझ उचाइमा पुग्ने : राजदुत होउ यान्छी

काठमाडौँ । चीनले सन् २०१९ मा चीन नेपाल सम्बन्ध राजनैतिक, आर्थिक, व्यापारिक र विकासका दृष्टिले अत्यन्त महन्वपूर्ण रहेको र सन् २०२० मा दुई देशबीचको जनस्तरको सम्वन्ध अझ उचाइमा पुग्ने बिश्वास व्यक्त गरेको छ ।

चिनियाँ दुतावासमा आज आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि चीनका राजदुत होउ यान्छीले गत वर्ष नेपालमा चिनियाँ लगानी एक सय १४ मिलियन डलर पुगेको, दुई देशबीचको व्यापारमा बृद्धि भएको र पछिल्लो १० महिनाको अवधिमा एक लाख ३५ हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको जानकारी दिनुभयो ।

उहाँले नेपाल सरकार र नेपाली जनताको एक चीन नीति प्रतिको प्रतिबद्धताको सरहाना गर्दैै बेइजिङले हङकङ र सिनजियाङ मामिलामा हुने बाह्य हस्तक्षेपको विरोध गर्ने बताउनुभयो ।

राजदुत होउले दरबार हाइस्कूलको भवन निर्माण अन्तिम चरणमा पुगेको, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको मर्मतसम्भार तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ पक्षबाट महत्वपूर्ण योगदान भइरहेको उल्लेख गर्नुभयो ।

नेपालको आर्थिक समृद्धिका लागि चीन, भारत र नेपालबीच टु प्पस वान मोडलमा विकास निर्माणलाई अघि बढाउनु पर्नेमा राजदुत होउले जोडदिनुभयो ।


उहाँले सन २०१९ को अन्तिम दिन पाटन दरबार स्क्वायरमा खिचिएका आफ्ना केही तस्बिरहरु ट्विटरमा सार्वजनिक गरेर नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न खोजिएको बताउनुभयो ।

राजदुत होउले जनवादी गणतन्त्र चीनस्थापनाको ७० वर्षको अवधिमा चिनियाँ कम्युनिष्ट पार्टीले आर्थिक सामाजिक क्षेत्रमा उल्लेख्य प्रगति गरेको, विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा चीनलाई स्थापित गरेको, एक लाख ३९ हजार किलोमिटर रेल मार्ग निर्माण भएको, ३५ हजार किलोमिटर द्रुत गतिको रेल मार्ग निर्माण भएको, ५० लाख किलोमिटर सडक सञ्जाल निर्माण भएको र ७० करोडभन्दा बढी चिनियाँ नागरिकलाई गरिबीको रेखाभन्दा माथी उठाउन चीन सफल भएको बताउनुभयो ।

नेपालमा पक्राउ परेका एक सय २० चिनियाँ नागरिकका विषयमा सोधिएको प्रश्नमा राजदुत होउले पर्यटक भिसामा नेपाल आएर साइबर अपराध कार्यमा लाग्नेहरूको चीनले रक्षा नगर्ने बताउनुभयो ।

उहाँले अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन  MCC (एमसीसी) सहयोग लिने नलिनेबारे नेपाल सरकारले निर्णय गर्नु उपयुक्त हुने उल्लेख गर्नुहुदै नेपाल जस्ता अति कम बिकसित मुलुकका लागि अन्तराष्ट्रिय लगानी र सहयोग आवश्यक हुने तर त्यस्तो सहयोग आर्थिक क्षेत्रमा मात्र केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।

चीन र नेपालको साझा हित र चासोका विषयमा नेपालको सक्रिय साथ र सहयोगको अपेक्षा पनि चीनले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button