तपाईँ सुन्दै हुनुहुन्छः

गाँउघरमा लोकप्रिय ‘लुकुनी’

दोलखा/ आधुनिक लताकपडाबाट विस्थापित बन्दै गएको लुकुनी, राडिपाखी, भाङ्ग्रा जस्ता घरेलु उत्पादन गाँउघरमा भने अझै लोकप्रिय छ । विगत ३० बर्ष देखि लुकुनी, राडिपाखी र भाङ्ग्राका कपडाको व्यवसाय गर्दै आउनु भएका श्यामकाजी गुरुङ जनजातिको वस्ति भएको गाँउघरमा यो घरेलु उत्पादन अझै पनि लोकप्रिय रहेको बताउनु हुन्छ ।

भेडा र खरायोको उनबाट बन्ने लुकुनी तथा राडिपाखी बुन्ने दोलखाकै करिब करिब एक्लो बृहस्पति बनेका श्यामकाजी आफ्नो सीप अरुलाई हस्तान्तरण गर्न खोज्दा समेत चासो दिने मानिस नभेटेको गुनासो गर्नुहुन्छ । दोलखाको केहि ठाँउ र रामेछापमा घरेलु कार्यालयले सञ्चालन गरेको तालिममा लुकुनी तथा राडिपाखी बुन्न सिकाएको भएपनि तालिमका सहभागिहरुले आफुले जानेको सीपलाई व्यवसायको रुपमा अगाडि बढाएको नदेखिएको श्यामकाजीको भनाई छ ।

६१ बर्षको उमेरमा समेत उत्साहका साथ लुकुनी र राडिपाखीको व्यवसायमा निरन्तर लागि रहेका श्यामकाजी महिनामा ४०÷५० वटा लुकुनी तथा राडिपाखी तयार गरेर बिक्रिको लागि गाँउगाँउमा पुग्नु हुन्छ । म एक महिनासम्म घरमा बसेर लुकुनी तथा राडिपाखी बुन्छु अनि एक महिना गाँउ गाँउमा पुगेर त्यसलाई बिक्रि गर्छु – श्यामकाजीले भन्नु भयो । बिभिन्न अवसरमा चरिकोट, जिरी, सिंगटी, मैनापोखरी जस्ता बजार क्षेत्रमा समेत यसको ब्यापार हुने उनको भनाई छ ।

दोलखाको गौरीशङ्कर, मार्वु, चंखु र सुरी काप्तीबाट भेडा तथा खरायोको उन ल्याएर धर्मपत्नी दलुमाया र आफुले लुकुनी, राडिपाखी तथा भाङ्ग्राको अन्य कपडाहरु तयार गर्ने श्यामकाजी बताउनु हुन्छ । भेडा र खरायोको उनबाट उत्पादीत कपडाहरु गुरुङ, तमाङ, थामी, जिरेल, सुनुवार, शेर्पा जातिका मानिसहरुले बढीमात्रामा प्रयोग गर्ने र केहि केहि अन्य जातिका मानिसले समेत प्रयोग गर्ने श्यामकाजीको भनाई छ ।
आफुले तयार गरेको लुकुनी एउटाको भेडाको उनको भए ५ हजार र खरायोको उनको भए ६ हजार पर्ने श्यामकाजीको भनाई छ । त्यसैगरी राडिपाखी दुईपाटे भए एउटाको तीन हजार, तीन पाटे भए चार हजार र चार पाटे भए ५ हजार पर्ने श्यामकाजी बताउनु हुन्छ । श्यामकाजीले लुकुनी र राडिपाखीको व्यवसायबाट बर्षमा तीन चार लाख रुपैयासम्म कमाई गर्दै आएका छन् ।

गौरीशङ्कर गाँउपालिकाको सुरी काप्ती स्थाई घर भएका श्यामकाजी २५ बर्ष अघि ब्यवसायकै क्रममा चरिकोट आईपुग्नु भएको थियो । लुकुनी र राडिपाखीको व्यवसायबाटै श्यामकाजीले चरिकोटमा घर बनाएर चार जना छोराछोरीको लालनपालन र पढाई पनि सकेका छन् । यो व्यवसायबाट राम्रैसंग गुजारा पनि चलेको र परम्परागत सीपको संरक्षण समेत भएकोले आफु सन्तुष्ट नै रहेको श्यामकाजी बताउनु हुन्छ । अहिले एक छोरी र तीन छोरा सबै आ आफ्नो बाटो लागिसकेको उनको भनाई छ । घरमा अहिले आफु र धर्मपत्नी दलुमायामात्र रहेको श्यामकाजीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button