तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा पाँच बादी परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

अछाम । अछामको मंगलसेन नगरपालिकाले बादी समुदायका पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ । मंगलसेन नगरपालिकाको वडा न ५ मा बसोबास गर्दै आएका बादी समुदायका परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।

पुस्तौँदेखि घरबार विहिन बादी समुदायलाई अब घर बनाएर आत्मनिर्भर बनाउने उदेश्यले लालपूर्जा वितरण गरिएको नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले बताउनु भएको छ । सधैँ अर्काको घरगोठमा बसेर जिवन गुजारी रहेका बादी समुदायलाई अब आत्मनिर्भर बनाउने खालका कार्यक्रम समेत सञ्चालन गरिने उहाँको भनाई छ ।

ठुलाबडाको मनोरञ्जनका साधनका रुपमा प्रयोग गरिने बादी समुदायलाई पनी अरु नागरिक सरह बाँच्न पाउने अधिकार सुनिश्चत गर्नका लागि नगरपालिकाले बादी समुदायलाई जग्गा हस्तारन्तरण गरेको बताउनुभयो ।

बादी समुदायले पनि आफ्नो आनीबानीमा सुधार गरी सक्षम नागरिक बन्नुपर्नेमा जोड दिनुहुदैँ नगरप्रमुख बोहराले उद्यमशिल भएर अघि बढ्नुपर्ने र काम गर्ने बादी समुदायलाई नगरपालिकाले पनि अर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रममा लालपूर्जा पाएका बादी समुदायले आफ्नो पुस्तौँदेखिको समस्या समाधान भएको भन्दै निकै खुसी ब्यक्त गरेका छन । अब आफुपनि अरु नागरिक सरह भएकाले जग्गा सँगसँगै अब आवास निर्माणका लागि पहल गरिदिन समेत नगरपालिका समक्ष माग गरेका छन ।

यत्रो बर्ष अरुकै घर गोठमा बसेर जिवन निर्वाहा गरियो मर्ने समयमा आफ्नो घरमा बस्न पाउने भन्दै मामती बादीले खुसी ब्यक्त गर्नुभएको छ । बादी समुदायकाले आफुलाई स्थानिय सरकार आएको महसुस भएको समेत बताएका छन ।

मंगलसेन नगरपालिक वडान ५ मा बस्दै आएका प्रेम बादी, रेवन्ता बादी, सुपारी बादी, मामिता बादी, टंकी बादीलाई प्रतिपरिवारलाई ३ आनाका दरले जम्मा १५ आना जग्गाको लालपूर्जा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

वडा न ५ को भैसेडाँडा बस्ने स्थानिय जोगी बिक र सेते कामीबाट नौ लाख ५७ हजार बराबरको जग्गा हस्तान्तरण गरिएको हो । यसबाट आफ्नो समुदायका लागि ठुलो राहत भएको टंकी बादीको भनाई छ ।

यसअघि जनता आवास कार्यक्रमका लागि घर बनाउन योजना आउने गरेपनि लालपुर्जा भएको जग्गा नभएका कारण रकम फिर्ता जाने भन्दै अब त्यसबाट मुक्त भएको टंकीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button