तपाईँ सुन्दै हुनुहुन्छः

जबर्जस्ती करणीको मुद्दा बढ्दो

ललितपुर-ललितपुर जिल्लामा जबर्जस्ती करणीको घटना क्रम बढ्दो अवस्थामा रहेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार यहाँ आयोजना गरेको ‘जिल्लाको मानवअधिकारको अवस्था वार्षिक पूर्वसमीक्षा कार्यक्रम’ मा ललितपुरमा सो विषयको उजुरी सङ्ख्या बढ्दो क्रममा रहेको जानकारी गराइएको छ । इन्सेकले २०७५ पुस १६ गतेदेखि २०७६ पुस १० गतेसम्म जबर्जस्ती करणीको मुद्दामा कूल ४८ वटा उजुरी दर्ता भएको जनाएको छ । गत वर्ष विसं २०७४ पुस १५ देखि २०७५ पुसको १६ गतेसम्म सो विषयका कूल ३५ वटा उजुरी दर्ता भएको इन्सेक ललितपुरका प्रतिनिधि दीपकप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

विसं २०७५ पुस १६ गतेदेखि २०७६ पुस १० गतेसम्ममा बहुविवाहका १८ वटा उजुरी दर्ता भएका छन् भने २०७४ पुस १५ गतेदेखि २०७५ पुसको १५ सम्ममा १७ वटा सो विषयको घटना दर्ता भएका जानकारी पाएको घिमिरले बताउनुभयो । ललितपुर जिल्ला अदालतका स्रेस्तेदार नगेन्द्रकुमार कालाखेतीले मानवअधिकारको रक्षा गर्ने विषय हरेक मानिसको दिमागबाटै उठ्दा समाजमा हिंसा न्यूनीकरण हुने जानकारी दिनुभयो । ललितपुरमा बढी बालबालिकाको संलग्नता लागुऔषध र चोरीमा रहेकाले सोको निराकरणमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने कालाखेतीले चित्रण गर्नुभयो । महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता दुर्गा सिंहले नेपालमा मागेरभन्दा भागेर विवाह गर्ने बालबालिकाको सङ्ख्या बढ्दो क्रममा रहेको जानकारी दिनुभयो ।

सबै मानिसले समयअनुसार आफैँमा परिवर्तन गरी अघि बढ्दा मानवअधिकारको रक्षा हुने सिंहले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय ललितपुरका अधिकृत सीता घिमिरेले मानवअधिकारको प्रत्याभूति गर्न र जनतालाई गुणस्तरीय सामग्री उपभोग गराउन आफूहरुले समयानुकूल बजार अनुगमन गर्ने गरेको बताउनुभयो । ललितपुर बार एशोसिएशनका अध्यक्ष दीपककुमार विष्टले नेपालको संविधानले प्रत्याभूत गरेका नागरिक अधिकारको सुनिश्चितताका लागि सबैले आआफ्नो कर्तव्य पालना गर्नुपर्नेमा जोड दिनुभयो

। नेपाली काङ्ग्रेस ललितपुरका सचिव रविन्स शर्माले जघन्य अपराधका घटनाबाहेक सामान्य मुद्दामा मेलमिलाप हुनुपर्ने जिकिर गर्नुभयो । गैरसरकारी संस्था महासङ्घ ललितपुरका अध्यक्ष टीकाराम दाहालले सामाजिक सञ्जालका कारण समाजमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दै जाँदा यसको निराकरणको लागि नैतिक शिक्षाको पाठ्यक्रम समावेश गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।

सो महासङ्घका पूर्वअध्यक्ष गोपाल सञ्जेलले ललितपुरमा बढ्दै गएको मानवअधिकार उल्लङ्घनका घटनालाई निराकरण गर्न ३ नं प्रदेश प्रमुखको सल्लाह र जवाफको आवश्यकता रहेको औँल्याउनुभयो । ललितपुर प्याब्सनका वरिष्ठ उपाध्यक्ष विष्णुबहादुर बस्नेतले समाजमा बढ्दै गएको व्यस्तताका कारण अभिभावकले सन्तानमा ध्यान दिन नसकेका कारण अराजकताको हाबी बढेको गुनासो गर्नुभयो । मानवअधिकार सञ्जाल ललितपुरका अध्यक्ष वशिष्ठ अधिकारीले स्थानीय तह न्यायिक समितिका प्रतिनिधिलाई आफूहरुले मानवअधिकारका सवालमा घच्घच्याएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button