तपाईँ सुन्दै हुनुहुन्छः

जनवरी १, दोलखामा १० हजार पर्यटक

दोलखा-अंग्रेजी नयाँ बर्ष २०२० को पहिलो दिन जनवरी १ मा दोलखाको प्रमुख पर्यटकीय गन्तव्य कालिञ्चोकमा झण्डै छ हजार पर्यटक पुगेको स्थानियले बताएका छन् । दोलखा जिल्लामा १० हजार बढी पर्यटक आएको तथ्याङ्कले देखाएको छ ।  दोलखाको कालिञ्चोक, चरिकोट, दोलखा भीमेश्वर र जिरीमा समेत गरी अंग्रेजी नयाँ बर्षको पहिलो दिन जनवरी १ मा १० हजार पर्यटक भित्रिएको प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताउनु भयो । दोलखा भित्रिएको यातायातका साधनहरु, होटलको संख्या र पर्यटक बसेको संख्या आदीको तथ्याङ्क हेर्दा दोलखामा अंग्रेजी नयाँ बर्षको पहिलो दिन १० हजार भन्दा बढी पर्यटक आएको देखिएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनु भयो ।

भ्रमण बर्ष २०२० को शुभारम्भ सहित नयाँ बर्षमा पर्यटकलाई स्वागत गर्न भीमेश्वर नगरपालिकाले सदरमुकाम चरिकोटमा बिबिध सांस्कृतिक कार्यक्रम र स्ट्रीट फुड फेस्टीबल सहित किवि महोत्सवको आयोजना गरेको छ । दोलखाबाट पहिलोपटक पहिचान तथा व्यवसायीक उत्पादन भएको किविको प्रवद्धन, प्रदेश तीनको तेस्रो महत्वपूर्ण पर्यटकीय गन्तव्य दोलखामा भ्रमण बर्ष २०२० मा अत्यधिक पर्यटक भित्राउन र जिल्लाको मुख्य मुख्य पर्यटकीय गन्तव्यको प्रचार प्रसारको लागि बिबिध सांस्कृतिक कार्यक्रम र स्ट्रीट फुड फेस्टीबल सहितको किवि महोत्सव आयोजना गरिएको नगरप्रमुख भरत बहादुर केसीले बताउनु भयो ।

जिल्लाको सबै स्थानिय तहको सहयोग तथा जिल्ला समन्वय समितिको समन्वयमा सञ्चालन भएको साताहाव्यापी किवि महोत्सवमा किवि, सुन्तला, अन्य कृषि उत्पादन र हस्तकलाका सामानहरुको स्टल रहने लालिगुरासँ युवा क्लबले सांस्कृतिक कार्यक्रम सहित एक सातासम्म लाखेनाच प्रर्दशन गर्ने, राष्ट्रिय तथा स्थानिय कलाकारहरुले हरेक दिन साँझ सातदोबाटो चोकमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने नगरप्रमुख केसीले बताउनु भयो ।

पर्यटकहरुलाई आकर्षित गर्न कालिञ्चोकमा रहेको झण्डै ५० वटा साना तथा ठुला होटलहरुले पनि सांगितिक कार्यक्रम, क्याम फायर जस्ता कार्यक्रमहरु गरेको कालिञ्चोकको सुनपाति होटलका सञ्चालक हरि ओलीले बताउनु भयो । दोलखाको पर्यटकीय नगरी, सगरमाथाको प्रवेशद्वार जिरीमा पनि भ्रमणबर्ष २०२० को पहिलो दिन बिबिध कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा आन्तरीक एवं बाह्रय पर्यटकको उल्लेख्य सहभागिता रहेको स्थानिय पत्रकार केन्द्रज्योती खड्काले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button