तपाईँ सुन्दै हुनुहुन्छः

‘समग्र अर्थतन्त्र सुधार उन्मुख’

काठमाडौं । आर्थिक क्षेत्रका विषय विज्ञहरुले व्यापार घाटा, राजश्व र विप्रेषणको वृद्धिदर घटेपनि समग्र अर्थतन्त्र भने सुधार उन्मुख नै रहेको बताएका छन् ।

प्रतिनिधिसभा अर्थ समितिले राजश्व परिचालन, बजेट कार्यान्वयन र पूँजीगत खर्चको प्रवृत्ति, समस्या र सुझाव, समष्टिगत अर्थतन्त्रका परिसूचक र तिनीहरुको प्रवृत्ति लगायतका विषयमा बुधबार गरेको छलफलमा विषय विज्ञहरुसँग यस्तो बताउनुभएको हो ।

सरकारी आर्थिक प्रशासनबाट सेवा निवृत्त विषय विज्ञहरुसँग समितिले गरेको छलफलमा डा. डिल्लीराम खनालले खर्च र राजश्वको प्रवृत्तिले अर्थतन्त्रमा समस्या देखाएपनि मेहेनत गरे मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि जानसक्ने बताउनुभयो ।

डा. केशवप्रसाद पन्तले वार्षिक बजेट र खर्चबीच तालमेल नहुने, अन्तरमन्त्रालय समन्वयको अभाव र कर्मचारी हडल्सका कारण पनि खर्च संरचना प्रभावित बनिरहेको बताउनुभयो ।

छलफलमा डा. केशव खड्काले खर्चको प्रवृत्तिमा अनावश्यक समय लाग्ने समस्या र राजश्व परिचालन तथा कर प्रणाली परम्परामुखी हुँदा अर्थतन्त्र संकटको बाटोमा देखिएको संकेत गर्नुभयो ।

डा. गोविन्द नेपालले खर्च प्रणालीमा सुधार ल्याउन पोलिटिकल र ब्यूरोक्रेसीबीचको सम्बन्ध सुधार आवश्यक रहेको र खर्चको तालिकालाई समेत चुस्त वनाइनुपर्ने बताउनुभयो ।

डा. महेशराज दाहालले पूजीँगत खर्च निराशाजनक हुन नदिन युनिटरी र बजेटरी सिष्टमबाट बजेट ल्याउन समितिलाई हस्तक्षेपकारी भूमिका खेल्न सुझाव दिनुभयो ।

डा. विश्वम्भर प्याकुरेलले पूँजीगत खर्चमा असारे प्रवृत्ति देखिनुमा संरचनागत र नीतिगत समस्या रहेकाले योजना र बजेट खर्चबीचको खाडलको विश्लेषण गरिनुपर्ने बताउनुभयो ।

डा. शंकर शर्माले योजनाविनाको बजेट विनियोजनको प्रभाव खर्चमा पनि देखिएकाले खर्च तालिका अनुसार गर्ने विषय सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताउनुभयो ।

उहाँले राजश्व स्रोत मुलुकको महत्वपूर्ण स्रोत भएपनि कर प्रणाली झन्झटिलो हुँदा त्यसको प्रभाव समेत अर्थतन्त्र पर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button