तपाईँ सुन्दै हुनुहुन्छः

अछामलाई फागुन मसान्तसम्म छाउगोठ मुक्त जिल्ला घोषणा गरिने

अछाम । अछाम जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधिहरुले छाउ गोठ भत्काउने अभियानमा लाग्ने प्रतिबद्धता जनाएका छन ।

जिल्ला प्रशासन कार्यालय अछामले आयोजना गरेको छाउपडी प्रथा उन्मुलन संयन्त्रको बैठकमा सहभागी जिल्लाका जनप्रतिनिधिहरुलेले जिल्लालाई फागुन मसान्तसम्म छाउपडी गोठमुक्त घोषणा गर्ने प्रतिवद्धता जनाएका हुन् ।

अछाम जिल्लामा कंलकको रुपमा रहेको छाउप्रथा र महिनाबारी हुने उमेर समुहका महिलाहरुको लागि सबैभन्दा असुरक्षित घरको रुपमा रहेको छाउगोठ पूर्णरुपमा भत्काउन आवश्यक रहेकाले माघ मसान्त भित्र अछामका सबै स्थानिय तहका वडाहरुमा छाउगोठ भत्काउने, फागुन १५ गते भित्र पालिका र फागुन मसान्तभित्र जिल्लालाई छाउगोठ मुक्त घोषणा गर्ने निर्णय भएको छ ।

बैठकले उक्त निर्णयलाई बेवास्ता गरे स्थानीय तहबाट दिईने सम्पुर्ण सेवा सुविधाबाट बञ्चित गरिने भएको छ । यस्तै छाउपडी प्रथा उन्मुलनको लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नको लागि संञ्चारमाध्यम प्रभावकारी हुने भएकाले स्थानीय सञ्चार माध्यममार्फत प्रचार प्रसार गर्ने, सबै संञ्चारमाध्यमहरुले खोजमुलक समाचार प्रचार प्रसार गर्ने, छाउपडी गोठ भत्काउने अभियानलाई सफल पार्नका लागि स्थानीय निकायसँगको समन्वयमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

छाउ गोठ भत्काउने क्रममा भेटिएका अति गरिब परिवारलाई जनता आवास कार्यक्रममा सहभागी गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने र छाउपडि प्रथा विरुद्धको अभियान सञ्चालन तथा छाउपडि गोठ नष्ट गर्ने अभियानमा समन्वय गर्ने, अभिलेख राख्ने र त्यसको बिवरण सम्बन्धित निकायमा पठाउन सबै स्थानीय तहहरुबाट तिन दिन भित्र सम्र्पक व्यक्तिहरुको नाम माग गर्ने लगायतका निणर्यहरु गरीएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button