भोजपुरमा बोलेरो दुर्घटना
भोजपुर । भोजपुर सदरमुकामबाट उत्तरमा रहेको षडानन्द नगरपालिका वडा नम्वर १० खोटडाँडाबाट धरान जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुदाँ चालकको उपचारकाक्रममा मृत्यु भएको छ ।
सोमवार साँझ षडानन्द नगरपालिका १० खोटडाँडाबाट सुन्तला लिएर धरान तर्फ जाँदै गरेको को २ च १७९२ नम्वरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडक भन्दा १५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका धरान उपमहानगरपालिका वडा नम्वर १६ घर भएका २७ बर्षिय चालक फूर्वा तामाङ्गको संखुवासभाको तुम्लिङटारमा रहेको मनोकामना अस्पतालमा उपचारका क्रममा राती मृत्यु भएको प्रहरी निरीक्षक राजवंशीले बताए । चालक तामाङ्गको अनुहार, छातीमा चोट र दाहिने खुट्टा भाँचिएको अवस्थामा उपचारमा पठाइएको थियो ।
दुर्घटनामा परी घाइते भएका सहचालक तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिका ७ वस्ने वर्ष २० का रविन मगरको भने उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्