तपाईँ सुन्दै हुनुहुन्छः

पुष १६ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ हुने

काठमाडौं । सरकारले यही पुष १६ गते अर्थात जनवरी १ तारिक २०२० का दिन देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘नेपाल भ्रमण वर्ष २०२०’ शुभारम्भ गर्ने भएको छ ।

त्यस दिन सरकारले काठमाण्डौको दशरथ रंगशालामा विशेष समारोहको आयोजना गरी भ्रमण बर्षको उदघाटन गर्ने र सातै प्रदेशहरुमा पनि विशेष कार्यक्रमको आयोजना गरी नेपाललाई विश्वको उत्कृष्ट पर्यटन गन्तव्यको रुपमा प्रर्दशन गर्ने गरी आवश्यक तयारी गरेको छ ।

उदघाटन कार्यक्रमका लागि आवश्यक सबै तयारी पुरा भएको आज काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा नेपाल भ्रमण वर्षको सचिवालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले राष्ट्रिय एकता राष्ट्रिय संस्कृतिको विकास र संरक्षण गर्ने राष्ट्रिय उत्सवको रुपमा नेपाल भ्रमण वर्ष मनाउन लागिएको बताउनु भयो ।

नेपाल विश्वकै अद्धितिय पर्यटकीय गन्तव्य रहेको उल्लेख गर्नुहुँदै मन्त्री भट्टराईले सरकार सहजकर्ताको रुपमा रहेर समाजका सबै क्षेत्रको सहयोगमा भ्रमण वर्ष अभियानलाई सफल पार्न लागिपर्ने उल्लेख गर्नु भयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सरकारले पर्यटन प्रवद्र्धनका लागि नेपाल भ्रमण वर्षसंगै पर्यटकीय दशक घोषणाको तयारी समेत अघि बढाएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक शुरज वैद्यले भ्रमण वर्ष उद्घाटन समारेहमा ७ वटै प्रदेशबाट ल्याइएका दीपहरुको एकीकृत दीप बनाएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रज्वलन गरिने र त्यस क्रममा नेपालका विभिन्न जातजाती र समूदायका झाँकी समेत प्रर्दशन गरिने जानकारी दिनु भयो ।

भ्रमण वर्ष उद्घाटन समारेहमा भाग लिन विभिन्न मुलुकका मन्त्रीहरुलाई समेत आमन्त्रण गरिएकोले आउने क्रम शुरु भएको पर्यटन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button