तपाईँ सुन्दै हुनुहुन्छः

मेलौली नगरपालिकाका नौ वटा वडा सचिवविहीन, सेवाग्राही समस्यामा

बैतडी। सिंहदरबारको सेवा गाउँघरमै भनेर मुलुक सङ्घीय संरचनामा गइसकेपछि सबै सेवा गाउँमै पाइन्छ भनेर उत्साहित नागरिक निराश हुन थालेका छन् । गाउँमै पाइने सेवासमेत घण्टौँ हिँडेर पालिका मुकाम पुगेर लिनुपर्ने भएको छ । यो बाध्यता बैतडीको तल्लोस्वराडमा रहेको मेलौली नगरपालिकाको हो । मेलौली नगरपालिकाका नौवटै वडामा सचिव छैनन् । सचिव नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।

वडा कार्यालयमा सचिव नहुँदा समस्या भएको मेलौली–७ का केशवसिंह भाटको गुनासो रहेको छ । “वडामा हुने कामका लागि नगरपालिका धाउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “गाउँमा कर्मचारी नहुँदा समस्या भएको छ ।” कर्मचारी समायोजनपश्चात नगरपालिका र वडामा कर्मचारी अभाव रहेको हो ।

वडामा सचिव नहुँदा प्राविधिक सहायकलाई खटाएर कामकाज गर्ने गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताउनुभयो । “पञ्जीकरणका विभिन्न काममा सचिवलाई मात्रै हस्ताक्षर गर्ने अधिकार छ”, उहाँले भन्नुभयो, “एकजनाले नगरपालिकामै बसेर नौवटै वडाको काम गर्नुपर्ने बाध्यता रहिआएको छ ।” वडामात्रै नभएर नगरपालिकामा पनि दरबन्दीअनुसारका कर्मचारी नहुँदा दैनिक कामकाजमा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको भनाइ छ ।

स्थानीय तह स्थापना भएदेखि नै नगरपालिकाले सचिवको अभाव झेलिरहेको नगरप्रमुख कृष्णसिंह नायकले बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीको अभावमा नगरपालिकाका सेवा प्रभावित भएका छन् ।” कर्मचारी अभावमा नागरिकले चाहेजस्तो सेवा दिन कठिनाइ भएको नगरप्रमुख नायकको भनाइ छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button