चिसोका कारणले धनुषाका अधिकांश विद्यालयहरु एक साताका लागि बन्द

जनकपुरधाम । पश्चिमी वायुको प्रभावका कारणले अत्याधिक मात्रामा चिसो बढेपछि जनकपुरधाम उपमहानगरपालिकासहित जिल्लमा रहेका अन्य सबै पालिकाको सामुदायिक तथा संस्थागत विद्यालयहरु एक साताको लागि आजबाट बन्द गरिएको छ ।
वर्षे विदामा कटौती हुने गरी जनकपुरधाम उपमहानगरपालिकाकोे सामुदायिक विद्यालयहरुको पठनपाठन बन्द गरेको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखाका अधिकृत अञ्जु पाण्डेले जानकारी दिनुभयो ।
यसैगरी जिल्लाको सबै सामुदायिक तथा संस्थागत बिद्यालयहरुको पठनपाठन आजदेखि बन्द गरिएको शिक्षा बिकास तथा समन्वय ईकाईका प्रमुख बरखुप्रसाद रजकले जानकारी दिनुभयो । आईतबारदेखि पुनः विद्यालयहरु सुचारु हुने पनि प्रमुख रजकले बताउनुभयो ।
चिसोका कारणले विद्यालयका बालबालिकाहरु निक्कै प्रभावित हुन थालेको र आजदेखि थप जाडो बढेपछि संस्थागत तथा सामुदायिक बिद्यालयहरु बन्द गरेको शिक्षा बिकास तथा समन्वय ईकाई कार्यालयले जनाएको छ ।
प्रदेश नंं २ को राजधानी जनकपुरधामसहित आसपासको जिल्लाहरुमा बिगत दुई सातादेखि निक्कै चिसो बढेका कारणले जनजीवन प्रभावित बनेको छ ।
दुई सातादेखि घाम नलागेका कारणले दिनदिनै चिसो बढ्ने क्रम जारी रहेको कारणले बिद्यालयहरु एक साताको लागि बन्द गरेको कार्यालयले जनाएको छ ।
पश्चिम दिशाबाट चिसो हावा चलेको र घाम पनि नलागेका कारणले दम, रुघाखोकी, वाथ लगाएतका रोगीहरुलाई समस्या भएको छ ।
यसैगरी ज्येष्ठ नागरिक, असक्त, अपाङ्गलाई दैनिक दिनचर्या गर्नमा पनि कठिनाई भएको छ । कठ्याग्रिदो जाडोका कारणले बिहान तीर विद्यालय जाने बिद्यार्थीहरु नराम्रोसँग प्रभावित हुन थालेका छन् ।
चिसो बढेसँगै प्रादेशिक अस्पताल जनकपुरसहित पालिकाहरुमा रहेको स्वास्थ्य संस्थाहरुमा रोगीको संख्या बढेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।
अत्याधिक चिसोका कारणले दैनिक मजदूरी गरेर जिविकोपार्जन गर्नेहरुलाई समस्या भएको छ भने गरिब, विपन्न तथा सिमान्तकृत वर्गका व्यक्तिहरु बढी मारमा परेका छन् ।
अत्यधिक चिसोका कारणले प्रदेश नंं २ को धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी सहितको जिल्लाहरुको जनजीवन नराम्रोसंग प्रभावित बनेका छन् ।
अत्याधिक चिसोका कारणले चौपायाहरुको मृत्यु हुने क्रम पनि बढेको पशुसेवा विज्ञ केन्द्र धनुषाका प्रमुख एवं भेटिनरी अस्पताल जनकपुरका प्रमुख डा. शम्भु साहले जानकारी दिनुभयो । खास गरेर साना पाडा–पाडी, बाछा–बाछी तथा पाठा–पाठीको मृत्यु हुने क्रम बढेको छ ।
कठ्याग्रिदो जाडो तथा घाम नलागेपछि बजारको चहलपहलमा कमी आउनुका साथै सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रीहरुको संख्यामा कमी आएको छ । यता जनकपुरधाम उपमहानगरपालिकासहित बिभिन्न ठाउँमा दाउरा बालेर आगो ताप्ने क्रम पनि बढेर गएको छ ।
चिसो बढेपछि खास गरेर हिटर, न्यानो तथा बाक्लो कपडा, उनी कपडाको बिक्रिमा बृद्धि भएको छ । अत्यधिक चिसो तथा कुहिरोका कारणले जनकपुर– काठमाडौँ हवाई सेवा प्रभावित भईरहेको नागरिक उड्डयन कार्यालय जनकपुरधामले जनाएको छ ।
खास गरेर अधिकतम तथा न्युनतम तापक्रमका बीचमा त्यति अन्तर नभएका कारणले चिसो अत्याधिक मात्रामा देखिएको नागरिक उड्यन कार्यालय जनकपुरधामका मौसम शाखाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्